काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले आफ्नो नेतृत्वको सरकारले नेपालको राष्ट्रिय स्वाभिमान विश्वस्तरमा उकासेको दाबी गरेका छन् ।
उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गर्नु ऐतिहासिक उपलब्धि भएको बताए । पहिले आफ्नो भूमि दाबी गर्ने आधार समेत कमजोर रहेकामा अहिले नक्सामै समेटेर बलियो दाबी प्रस्तुत गरिएको उनको भनाइ थियो ।
उत्तरतर्फ चीनसँगका नाका खोलेर समुन्द्रसम्मको पहुँच सुनिश्चित गरिएको र नेपाल अब ‘ल्यान्ड-लक्ड’ बाट ‘ल्यान्ड-लिङ्क्ड’ देश बनेको उनले बताए । विश्वसँग जोडिने र समुन्द्रसम्म पुग्ने वैकल्पिक बाटो चीनतर्फबाट पनि खुलेको उनको दाबी छ ।
राष्ट्रियताको सवालमा एमालेले कहिल्यै सम्झौता नगर्ने र देशको एक इन्च भूमि पनि नछोड्ने प्रतिबद्धता उनले दोहोर्याए । अन्तर्राष्ट्रिय जगतमा नेपालको आवाज सुनिने गरी आफूले काम गरेको र देशको स्वाभिमान बढेको उनको दाबी थियो ।
उनका अनुसार पहिले नेपालको भूमि अरूको नक्सामा पर्ने तर आफ्नै नक्सामा नपर्ने अवस्था थियो । मिचिएको भूमि फिर्ता ल्याएर आफ्नै नक्सामा समेटिएको उनले बताए । विश्व र समुन्द्रसँग जोडिने बाटो चीनतर्फबाट पनि खुलेको भन्दै नेकपा एमाले काम गर्ने पार्टी भएको उनको भनाइ छ ।
आफ्नो कार्यकालमा भएका भौतिक पूर्वाधारका कामहरूको चर्चा गर्दै उनले नेपाललाई आधुनिक युगतर्फ लैजान महत्त्वपूर्ण पहल भएको बताए । मेची–महाकाली राजमार्ग चौडा गर्ने काम, हुलाकी राजमार्ग र मदन भण्डारी राजमार्गको शुरूआत आफ्नै पहलमा भएको उनको भनाइ थियो ।
दमकमा पहिले चापाकल मात्र भएको ठाउँमा अहिले घरघरमा खानेपानी पुगेको र सञ्चार क्षेत्रमा नेपाल विश्वस्तरमा पुगेको उनले दाबी गरे ।
हजारौँ पुल निर्माण, खानेपानीका ट्याङ्की स्थापना र बिजुली विस्तारमा उल्लेखनीय प्रगति भएको उनले बताए । सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा नेपाल पनि विश्वसँगै अगाडि बढेको उनको दाबी छ ।
सुरुङमार्ग, रेलमार्ग र भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत साढे आठ लाख घर बनेको तथ्य प्रस्तुत गर्दै उनले एमाले काम गर्ने पार्टी भएको र यसले देशको मुहार फेरेको दाबी गरे ।
एकैपटक ३९६ पालिकामा आधारभूत अस्पतालको शिलान्यास गरिएको स्मरण गर्दै स्वास्थ्य क्षेत्रमा पनि ठूलो फड्को मारेको उनले बताए ।





