काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिनमा पनि बैङ्किङ सेवा उपलब्ध गराउन इजाजतप्राप्त बैङ्क तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।
केन्द्रीय बैङ्कले एक परिपत्र जारी गर्दै होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन अर्थात् फागुन २१ गते बिहीबारका दिन बैङ्क तथा वित्तीय संस्थाका कार्यालयहरू खुल्ला राख्ने व्यवस्था मिलाउन आग्रह गरेको हो।
सरकारी कारोबार गर्ने तोकिएका वाणिज्य बैङ्कहरूलाई भुक्तानी र राजस्व दाखिलाको प्रक्रिया सहज बनाउन यो निर्देशन दिइएको हो।
राष्ट्र बैङ्कले विशेष गरी निर्वाचन प्रचारप्रसारका लागि खोलिएका खाताहरूको व्यवस्थापनमा जोड दिएको छ।
राजनीतिक दल तथा उम्मेद्वारहरूले गर्ने नगद जम्मा, चेक भुक्तानी वा अन्य विनिमय साधनहरूको कारोबारलाई सहज बनाउन बैङ्कहरूलाई भनिएको छ।
निर्वाचनको समयमा हुने वित्तीय कारोबारलाई मध्यनजर गर्दै बैङ्किङ सेवामा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको हो।




