पोखरा । पोखरा-८ स्थित नेशनल क्रियशन एकेडेमीमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
कार्यक्रममा गत वर्षको वार्षिक परीक्षामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
विद्यार्थीलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपालबहादुर थापा, प्राचार्य ज्ञानेन्द्र थापा, प्रशासक विक्रम थापालगायतले पुरस्कार प्रदान गरेका थिए ।
प्रशासक थापाका अनुसार कार्यक्रममा सबै कक्षाका एक सय ५० बढी विद्यार्थी पुरस्कृत भए ।
सोही अवसरमा विद्यालयले आयोजना गरेको विभिन्न अतिरिक्त क्रियाकलापमा विजेता विद्यार्थीलाईसमेत पुरस्कार प्रदान गरिएको क्रियाकलाप संयोजक सुधामा रेग्मीले जानकारी दिए ।
कार्यक्रममा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीले विभिन्न नृत्य, गीत तथा नाटक प्रस्तुत गरेको कार्यक्रम संयोजक युवराज गुरुङले जानकारी दिए ।
कार्यक्रम शुभारम्भ गर्दै विद्यालयका प्राचार्यले थापाले विद्यार्थीको सर्वाङ्गीण विकासमा यस्ता कार्यक्रमको ठूलो भूमिका खेल्ने बताए।
कक्षा कोठाको पढाइले मात्र विद्यार्थीको सम्पूर्ण क्षमता उजागर नहुने भन्दै उनले पढाइसँगै कला, संस्कृति र खेलकुदमा विद्यार्थीलाई सहभागी गराइँदै आएको र यस्ता कार्यक्रमले आत्मविश्वास बढाउने दाबी गरे ।
उनले अनुशासन, मेहनत र लगनशीलता नै सफलताको आधार भएको भन्दै नियमित अभ्यास र सकारात्मक सोचले लक्ष्य हासिल गर्न सहयोग पुग्ने बताए।
विद्यार्थीको प्रतिभालाई पहिचान गरी प्रोत्साहन गर्न अभिभावक, शिक्षक र विद्यालय प्रशासनबीच सहकार्य आवश्यक रहेको प्राचार्यको भनाइ थियो।
विद्यालयका प्रशासक विक्रम थापाले विद्यालय स्थापनादेखि हालसम्म भएका महत्वपूर्ण गतिविधिमाथि प्रकाश पारेका थिए । उनले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय सधैँ प्रयत्नशील रहेको स्पष्ट पारे ।
विव्यस अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रशासक विक्रम थापाले स्वागत र अतिरिक्त क्रियाकलाप प्रमुख रेग्मीले सञ्चालन गरेका थिए ।
नेशनल क्रियशन एकेडेमी १९ वर्ष अघि स्थापना भएको हो । विद्यालयमा कक्षा १२ सम्मको पढाई हुँदै आएको छ । विद्यालयमा हाल चार सय ५० विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा १२ सम्मको पढाई हुँदै आएको छ ।




