पोखरा । गाउँमै स्वास्थ्य चौकी छ तर भवन मात्रै छ । औषधि र डाक्टर छैनन् । बिरामीले सामान्य उपचारका लागि पनि पोखरा र काठमाडौँ धाउनुपर्छ । देशैभरका ग्रामीण क्षेत्रमा यही समस्या छ । यसको समाधान सके सबै स्वास्थ्यचौकीमा सुविधा सम्पन्न उपकरण र दक्ष जनशक्ति चाहिन्छ, नभए हब हस्पिटलको अवधारणामा जानुपर्छ ।
कास्की-३ का उम्मेद्वार मनोज गुरुङ मतदातालाई भेट्दा स्वास्थ्य, शिक्षा, रोजगारीमा बढी चिन्तन गर्छन् । ‘अस्पताल भए पनि उपचार पाउनु नागरिकको नैसर्गिक अधिकार हो । हाम्रोतिरका सबैजसो स्वास्थ्यचौकी सिटामोल बाँड्ने केन्द्र मात्रै भएका छन्,’ उनले भने, ‘सर्पले टोक्यो भने उपचार नपाएर बिरामी मर्नुपर्छ । हाम्रो भूगोल यही हो, सहजै र छिट्टै अस्पताल पुर्याउन सकिँदैन । अब विकल्पमा जानुपर्छ भन्ने मेरो प्रस्ताव छ ।’
उनले निर्वाचन क्षेत्रलाई केन्द्रित गरेर हब हस्पिटल चलाउनुपर्ने तर्क गरे । ‘क्षेत्र नं ३ लाई पायक पर्ने ठाउँ खोजेर अस्पताल बन्नुपर्छ । त्यहाँबाट जटिल बाहेक सबै उपचार हुन सकोस्,’ उनले भने, ‘अस्पताल भनेको भवन मात्रै हेरेर त भएन । डाक्टर, उपकरण र औषधि पनि चाहिन्छ । मैले संसदमा यही नीतिका लागि पैरवी गर्छु ।’
गुरुङको शिक्षा नीतिमा पनि फरक दृष्टिकोण राख्छन् । गाउँगाउँमा भएका विद्यालयलाई प्रारम्भिक शिक्षा दिने थलो बनाउने र केही पालिकाहरूलाई नै समेट्ने गरी बिग स्कूल निर्माण गर्नुपर्ने उनको तर्क छ ।
कास्की-३ मा पनि बिग स्कूल अवधारणामा जानुपर्ने र त्यसको पैरवी आफूले गर्ने उनले सुनाए ।
‘गाउँमा भएका विद्यालय हेर्नुस् त, विद्यार्थी नै छैनन् । शिक्षकले विद्यालय कुरेर बस्नुपर्ने अवस्था छ । त्यसका धेरै कारण छन्,’ उनले भने, ‘स्कूल बन्द भए भनेर चिन्तित भइराख्ने होइन । हामी अहिलेको परिवेश अनुसार एडप्ट हुनुपर्छ । बिग स्कूलको अवधारणामा जान सके शिक्षालाई गुणस्तरसँग जोड्न सकिन्छ ।’
उनले एकै क्षेत्रमा प्राविधिक र अन्य पढाईको प्रतिनिधिमूलक आवासीय विद्यालय सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
मनोजलाई घरदैलोका क्रममा धेरैले बन्द हुँदै गरेका विद्यालय र स्वास्थ्य संस्थामा औषधि उपचार हुन नसकेको गुनासो गरिरहेका थिए ।
त्यसो त, मनोज आँफैलाई पनि यी समस्याबारे ज्ञान छ । ‘मैले बुझेको छु मेरो भूगोलको समस्या । आम नागरिकले जे सुनाउनुभयो, त्यो मैले पनि भोग्दै आएको हुँ,’ उनी भन्छन्, ‘निर्वाचनमा भोट माग्नका लागि मैले कसैलाई फुरुक्क पार्नुपर्ने छैन । किनकी यी समस्या समाधान गर्न मैले यसअघि दैनिक पैरवी र समन्वय गर्दै आएको छु।’
उनले कास्की जिल्लाकै विकासका लागि सिंहदरबारदेखि प्रदेश राजधानी पोखरामा रहेका मन्त्रालय र सरकारी अड्डाहरू धाइसकेका छन् ।
उनै गुरुङलाई नेपाली कांग्रेसले कास्की-३ मा टिकट दिएको हो । उनको उम्मेद्वारीलाई सबैले स्वीकारेका छन् ।
‘मैले सांसद बनुँला भनेर नागरिकको सुखदु:मा सहभागी भएको होइन । यो अवस्था आउला भन्ने लागेको पनि थिएन,’ उनले थपे, ‘परिस्थितिले मलाई थप जिम्मेवारी सुम्पियो । म त्यसका लागि तयार भएको छु । मतदाताको समर्थनले ठूलो उत्साह मिलेको छ ।’
उनले जलवायु परिवर्तनको असर न्यूनीकरणदेखि जलवायु संकट टार्न संसदबाट विश्व समुदायको ध्यानाकर्षण गराउने उद्घोष गरिसकेका छन् ।
आफ्नो क्षेत्रका सबै वडामा कालोपत्रे सडक र गाउँगाउँमा एम्बुलेन्स चल्न सक्ने अल वेदर रोड निर्माण गर्ने उनको संकल्प छ ।
संरक्षण क्षेत्रभित्रका व्यवसायीलाई त्रसित नबनाई वैधानिकता दिन पैरवी गर्ने उनले सुनाए । गुरुङले घरदैलो अन्तिम चरणमा पुर्याएका छन् । युवादेखि ज्येष्ठ नागरिकसम्मको रोजाइमा परेकाले आफूले जित्ने उनको दाबी छ ।





