धनुषा । बिहानीको शान्त वातावरण चिर्दै औरही गाउँपालिका-६ चक्करस्थित खेतमा भेटिएको एक शवले पूरै गाउँलाई स्तब्ध बनायो । खेतको छेउमा लडिरहेको २० वर्षीय सुमित कुमार मण्डलको निर्जीव शरीरले प्रेम, परिवार र समाजबीचको टकराव कति भयावह रूप लिन सक्छ भन्ने कठोर यथार्थ उजागर गरिदियो ।
हंसपुरका सुमित र सोही पालिकाकी काजल मण्डलबीच करिब एक वर्षदेखि चिनजान र कुराकानी चल्दै आएको थियो । गाउँघरमा लुकीछिपी भेटघाट हुने यी दुईको सम्बन्ध परिवारको आँखामा भने स्वीकार्य थिएन । यही अस्वीकृत सम्बन्ध अन्ततः हिंसात्मक अन्त्यतिर धकेलियो ।
घटनाको रात बुधबार साँझ करिब ६ बजेतिर सुमित काजललाई भेट्न सोनिगाम पुगेका थिए । त्यही बेला काजलका काका परमेश्वर मण्डल घर आइपुगे । दुबैलाई सँगै बसेको देखेपछि रिसको आवेगमा सुमितलाई कोठाबाट बाहिर निकालियो । त्यसपछि काजलका भाइ दिपेश मण्डललाई बोलाई कुटपिट गरियो । हात पछाडि बाँधेर नजिकैको खेतमा पुर्याई धारिलो हतियारले घाँटी रेटिएको प्रहरी अनुसन्धानले देखाएको छ ।
घटनापछि अपराध लुकाउने प्रयास पनि भयो । मृतकले प्रयोग गरेको मोटरसाइकल छिमेकी गाउँमा रहेको एक साथीको घरमा लुकाइयो । तर प्रहरीले २४ घण्टा नबित्दै घटनाको रहस्य खोलेर प्रेमिका काजलसहित तीन जनालाई पक्राउ गर्यो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रुगमबहादुर कुँवरले पत्रकार सम्मेलनमार्फत घटनाको विवरण सार्वजनिक गरेका छन् ।
यो घटना एउटा व्यक्तिगत अपराध मात्रै होइन, समाजमा अझै जरा गाडेर बसेको सोचको परिणाम पनि हो ।
‘इज्जत’, ‘मर्यादा’ र ‘परिवारको नाम’ जोगाउने नाममा गरिने हिंसाले निर्दोष जीवन खोसिने क्रम रोकिएको छैन । ग्रामीण भेगमा प्रेम सम्बन्धलाई अझै अपराधसरह हेरिने प्रवृत्तिले युवायुवतीलाई जोखिमपूर्ण परिस्थितितर्फ धकेलिरहेको छ ।
मानवअधिकारकर्मीहरू भन्छन्, सम्बन्ध अस्वीकार गर्न पाइन्छ, तर हिंसा कहिल्यै समाधान हुँदैन । संवाद, परामर्श र कानुनी बाटो अपनाउनुको सट्टा आक्रोश र बदला रोजिँदा नतिजा सधैं दुखद हुन्छ । सुमितको मृत्युले एउटा परिवार मात्र होइन, सिंगो समुदायलाई गहिरो चोट दिएको छ ।
प्रहरीले घटनामा संलग्न तीनै जनालाई नियन्त्रणमा लिएर हत्या प्रयोजनमा प्रयोग भएका हतियार बरामद गरिसकेको छ । अब कानूनी प्रक्रिया अघि बढ्नेछ ।
तर सुमित जस्तो एक युवा जीवनको मूल्य अदालतको फैसला भन्दा धेरै ठूलो छ । यो घटना प्रेम सम्बन्धलाई ‘अपराध’ ठान्ने सोचमाथि गम्भीर बहस र आत्मसमीक्षा गर्ने घडी पनि हो ।





