काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको संयुक्त हस्ताक्षर संयुक्त हस्ताक्षर रहेको भन्दै सार्वजनिक गरिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित रहेको पुष्टि गरेको छ ।
रास्वपाले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरी लेखिएको भनिएको पत्र पत्रप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘सार्वजनिक गरिएको उक्त पत्र पूर्णतः नक्कली, किर्ते र कपोलकल्पित रहेको हामी स्पष्ट पार्न चाहन्छौँ,‘ विज्ञप्तिमा लेखिएको छ, ‘दुई जिम्मेवार व्यक्तिहरूको नाम जोडेर परराष्ट्र सम्बन्ध जस्तो संवेदनशील विषयमा यस्ता अनर्गल र आधारहीन भ्रम फैलाउनु अत्यन्तै निन्दनीय कार्य हो ।’
सार्वजनिक गरिएको पत्र किर्ते र झुटो रहेको दाबी गर्दै रास्वपाले त्यसप्रति विश्वास नगर्न आग्रह गरेको छ ।
रास्वपाले सर्वसाधारणलाई निर्वाचनको मुखमा फैलाइएका यस्ता फेक न्यूज र भ्रामक प्रचार पछि नलाग्न र सचेत रहन अपीलसमेत गरेको छ ।





