Nidan Media

पोखरालाई घुम्ने होइन, कमाउने सहर बनाउने मनोज गुरुङको प्रतिवद्धता

पोखरा । कास्की क्षेत्र नं ३ का कांग्रेस उम्मेद्वार मनोज गुरुङले पोखरालाई कमाउने ठाउँ बनाउने बताएका छन् । नेपाली कांग्रेस कास्कीले पोखरामा आयोजना गरेको चुनावी सभामा उम्मेद्वार गुरुङले यस्तो बताएका हुन् ।

पोखरालाई पर्यटनको राजधानी बनाउन सकिए देश नै समृद्धितर्फ अघि बढ्ने उनको दाबी छ।

उनले भने, ‘पोखरा केबल घुम्ने ठाउँ होइन, कमाउने ठाउँ बनाउने हाम्रो संकल्प हो । यसका लागि १२ महिना नै चल्ने पर्यटन अर्थतन्त्र, साहसिक खेल, अन्तर्राष्ट्रिय कार्यक्रम, ग्रामीण कृषि तथा पर्यटनका एकीकृत ढाचा हाम्रा प्रतिज्ञा हुन्।’

पोखरामा पर्यटन सम्भावना हुँदाहुँदै व्यवस्थापन नहुनु, युवा शक्ति हुँदाहुँदै अवसर नहुनु, कृषि हुँदाहुँदै बजार नहुनु र विमानस्थल हुँदाहुँदै दीर्घकालीन सञ्चालन रणनीति नहुनु मुख्य समस्या भएको उनले औँल्याए ।

यी सबै पक्षमा सुधार गर्न सकिए पोखरालाई सार्थक अर्थमा पर्यटनको राजधानी बनाउन सकिने उनको भनाइ थियो ।

पोखरालाई पर्यटनको राजधानी कै रुपमा अघि बढाउने हो भने त्यसले समग्र देशलाई समृद्धितर्फ अघि बढाउने दाबी गरे ।

सार्वजनिक सेवामा परदर्शी चाहेको भन्दै उनले भने, ‘लाइन होइन अनलाइन, चिनजान होइन प्रणाली र ढिलासुस्ती होइन समयसीमा चाहन्छौँ ।’

युवा पुस्ता अवसरको खोजीमा विदेशिन बाध्य भएकोप्रति चिन्ता व्यक्त गर्दै गुरुङले यस अवस्थाको अन्त्य गर्न सीप, प्रविधि र उद्यमशीलतामार्फत देशमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाए ।

आफू भोट माग्न मात्रै नभई जनताको विश्वास माग्न आएको उनले बताए । विश्वासका आधारमै देशलाई सही दिशामा लैजान सकिने उल्लेख गर्दै उनले लोकतन्त्रको रक्षा आफ्नो पहिलो कर्तव्य भएको स्पष्ट पारे ।

यो निर्वाचन देशकै भविष्यसँग जोडिएको स्पष्ट पार्दै गुरूङले यसतर्फ सोचेर कांग्रेसलाई मत दिन आग्रह गरे। उनले सुशासन र सामाजिक न्यायलाई मूल आधार बनाएर अघि बढ्ने प्रतिबद्धता

शिक्षा प्रणालीमा सुधार गरी विद्यालय र कलेजबाट निस्किएका विद्यार्थी सिधै रोजगारीमा जोडिन सक्ने व्यवस्था मिलाउने र स्वास्थ्य सेवा सबैका लागि सहज र पहुँचयोग्य बनाउने प्रतिबद्धता पनि उनले जनाए ।

जनताको करबाट उठेको पैसा जनताकै हितमा खर्चिनुपर्नेमा समेत उनले जोड दिए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.