काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरकारले म्यादी प्रहरीसहित तीन लाख ४१ हजार एक सय ११ जना सुरक्षाकर्मी परिचालन गरेको छ। निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिको निर्णयअनुसार देशभर सुरक्षा व्यवस्था कडा बनाइएको हो।
परिचालित सुरक्षाकर्मीमध्ये नेपाली सेनाबाट ७९ हजार सात सय २७, सशस्त्र प्रहरी बलबाट ३४ हजार पाँच सय ७६, नेपाल प्रहरीबाट ७५ हजार सात सय ९७, राष्ट्रिय अनुसन्धानबाट एक हजार नौ सय २१ र निर्वाचन प्रहरी (म्यादी) बाट एक लाख ४९ हजार ९० जना छन्।
निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिका संयोजक सगुन शमशेर जबराले हालसम्म देशभरको शान्ति सुरक्षामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताए।
आयोगले समय–समयमा सुरक्षा निकायका प्रमुखसँग जानकारी लिइरहेको र कुनै ठूला सुरक्षा चुनौतीको रिपोर्ट नआएको उनको भनाइ छ।
तर निर्वाचनको वातावरण सुरक्षित बनाउन र मतदातालाई ढुक्क भएर मतदान गर्न सक्ने अवस्था सिर्जना गर्न यसपटक विगतभन्दा छिट्टै सेना परिचालन गरिएको उनले स्पष्ट पारे।
अघिल्ला निर्वाचनमा सेना तेस्रो घेरामा राखिँदा सुरक्षा प्रभावकारी नभएको सुझाव आएपछि आवश्यक परे पहिलो घेरामै खटाउन सकिने गरी मोडालिटी तय गरिएको पनि उनले जानकारी दिए।
जबराका अनुसार निर्वाचन आयोगले सुरुदेखि नै सबै सुरक्षा निकायका प्रमुखसँग समन्वय गर्दै आएको छ। निर्वाचन बहिष्कार गर्ने भनाइ आए पनि त्यसले मतदान प्रक्रियामा असर नपर्ने उनले बताए। तर मौसमले केही बाधा पुर्याउन सक्ने सम्भावना रहेको उनको भनाइ छ।
निर्वाचन सुरक्षामा नेपाली सेनाको भूमिका यसअघि पनि रहेको स्मरण गराउँदै उनले यसपटक नागरिकलाई सुरक्षित महसुस गराउन र अन्य सुरक्षा निकायको मनोबल बढाउन छिट्टै परिचालन गरिएको बताए।
मतपत्र ढुवानी, विशेषगरी हिमाली जिल्लामा, नेपाली सेनामार्फत गरिएको र आवश्यक उपकरण पनि सेनाकै प्रयोग भइरहेको उनले जानकारी दिए। निर्वाचनका क्रममा कतै विस्फोटक पदार्थ भेटिएमा सहज व्यवस्थापनका लागि पनि सेना परिचालन गरिएको जनाइएको छ।
निर्वाचन सुरक्षा समितिको पहिलो बैठकले नै निर्वाचनमा नेपाली सेना प्रयोग गर्ने विषयमा सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो। प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुँदैछ।





