Nidan Media

सबै दल र सबै वर्गलाई मिलाएर अघि बढ्ने क्षमता कांग्रेससँग मात्र छ : गगन थापा

बुटवल । गगनकुमार थापाले सबै दल र सबै वर्गलाई मिलाएर अघि बढ्ने क्षमता कांग्रेससँग मात्र रहेको बताएका छन्।

शुक्रबार बुटवलमा भएको चुनावी सभामा उनले कांग्रेसले आन्तरिक विवाद मात्र होइन, राष्ट्रिय मुद्दामा पनि सबैलाई मिलाएर अघि बढ्न सक्ने दाबी गरे।

यही कारण कांग्रेसलाई भोट नहाल्ने कुनै कारण नभएको भन्दै उनले नेता–कार्यकर्तालाई घर–घरमा गएर रूखमा मतदान गर्न आग्रह गर्न निर्देशन दिए।

“कांग्रेसलाई भोट नहाल्ने कुनै कारण छैन। घर–घरमा पुगेर रूखमा भोट दिन आग्रह गर्नुहोस्,” उनले भने।

थापाले सामाजिक सञ्जालमै सीमित नहुन आग्रह गर्दै घर–घरमा पुगेर प्रत्यक्ष संवाद गर्न नेता–कार्यकर्तालाई भने। किसानका खेतमा मल पुर्‍याउनेदेखि पहाडका बाँदर धपाउनेसम्म जनताका समस्यामा कांग्रेसले अध्ययन गरेर काम गर्न खोजेको उनले बताए।

यस क्षेत्रका उम्मेदवारले निकै मेहनत गरिरहेको उल्लेख गर्दै उनले पाँच वर्षका लागि रूखलाई भोट दिन आग्रह गरे। “पाँच वर्ष कांग्रेसलाई मौका दिनुस्, देश बनाउने जिम्मा हामी लिन्छौँ,” उनले भने।

उनले कांग्रेसको सबैभन्दा ठूलो शक्ति संगठन भएको बताउँदै नेता–कार्यकर्तालाई गाउँ–टोलमा पुगेर मतदातासँग कुरा गर्न आग्रह गरे। नवयुवासँग कुरा गर्दा शुरूमा आलोचना पनि आउन सक्ने भन्दै धैर्यपूर्वक संवाद गर्न सुझाव दिए।

थापाले कांग्रेस विशेष महाधिवेशनपछि पुराना राम्रा कामलाई निरन्तरता दिने र कमजोरी सुधार्ने संकल्प गरेको बताए। कांग्रेसले पाँच वर्षभित्र काम गरेर परिणाम देखाउने प्रतिज्ञा गरेको भन्दै पार्टीलाई मौका दिनुपर्ने उनको भनाइ थियो।

उनले उत्तेजनाको राजनीति र सामाजिक सञ्जालका भ्रमबाट जोगिन आग्रह गरे। “फोन, फेसबुक र युट्युबले धेरै भ्रम फैलाइरहेका छन्, त्यसमा धेरै नबहकिनुस्,” उनले भने।

विदेशमा रहेका नेपालीसँग पनि सहयोग माग्दै थापाले सबै मिलेर संगठन बलियो बनाउनुपर्ने बताए। गाउँमा नगइ काम नगरेसम्म बाँझिएका खेतबारी हराभरा नहुने उल्लेख गर्दै उनले देशमै केही गर्न सकिने विश्वास व्यक्त गरे।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.