काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचन संविधानलाई सही मार्गमा राख्नका लागि अनिवार्य उपाय भएको बताएका छन् । बिहीबार सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले वर्तमान परिस्थितिका कारण निर्वाचन अपरिहार्य बनेको स्पष्ट पारे ।
उनले निर्वाचन कुनै दलको योजनाअनुसार नभई परिस्थितिको बाध्यताका कारण हुन लागेको उल्लेख गर्दै संविधानलाई लयमा फर्काउन चुनाव आवश्यक रहेको दोहोर्याए । परिणामको चिन्ता नगरी निर्वाचन सफल बनाउने दिशामा पार्टी पूर्ण रूपमा जुटेको उनको भनाइ छ ।
उनले केही तत्वहरूले निर्वाचनबारे भ्रम फैलाउन खोजेको आरोप लगाउँदै त्यस्ता सबै भ्रम चिर्दै तोकिएकै समयमा मतदान सम्पन्न गराउन सरकारलाई पूर्ण साथ दिने प्रतिबद्धता व्यक्त गरे।
आगामी दिनमा अस्थिरता र अव्यवस्था नहोस् भन्ने लक्ष्यसहित नेपाली कांग्रेस जनतामाझ गएको बताउँदै अब कुनै पनि प्रकारको आन्दोलन र विध्वंश हुन नदिने अडान दोहोर्याए ।
उनका अनुसार फागुन २१ गते हुने निर्वाचन विगतका भदौ २३ र २४ का घटनासँग जोडिएको छ र ती घटनाकै परिणामस्वरूप अहिलेको अवस्था सिर्जना भएको हो । ती घटनाबाट पाठ सिकेर अब संविधानिक प्रक्रिया बलियो बनाउँदै देशलाई स्थिरतातर्फ लैजाने बाटोमा अघि बढ्नुपर्ने उनले उल्लेख गरे ।
चुनाव नजिकिँदै जाँदा नागरिकमा अन्योल फैलाउने प्रयास भइरहेको बताउँदै सभापति थापाले समयमै निर्वाचन सम्पन्न गरिनु नै लोकतन्त्रको सुदृढीकरणको आधार भएको दाबी गरे । उनले संविधानलाई सही लयमा राख्ने सवालमा नेपाली कांग्रेस कुनै हालतमा पछि नहट्ने स्पष्ट सन्देश दिए।





