Nidan Media

निर्वाचन खर्च बैंक खातामार्फत नगर्नेलाई कारबाहीको चेतावनी

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन खर्च बैंक खातामार्फत नगर्ने दल वा उम्मेद्वारलाई कारबाही गर्ने चेतावनी दिएको छ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार बैंक खाता नखोली वा खाता खोलेर पनि बैंकिङ कारोबार नगरी खर्च गर्ने दल वा उम्मेद्वार निर्वाचन आचारसंहिता उल्लंघन गर्ने भएकाले प्रचलित व्यवस्थाअनुसार कारबाही गरिनेछ। आयोगले सबै दल र उम्मेद्वारलाई बैंक खातामार्फत मात्र खर्च गर्न निर्देशन दिएको छ।

हालसम्म नौ ओटा राजनीतिक दल र १३ सय ८९ उम्मेद्वारले बैंक खाता सञ्चालनमा ल्याइसकेका छन्। खाता सञ्चालन गर्ने दलमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिस्ट पार्टी, नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी, संयुक्त नागरिक पार्टी, मितेरी पार्टी र नेपाल जनता संरक्षण पार्टी छन्।

तर नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका ठूला दलले अहिलेसम्म खाता खोलेका छैनन्।

आयोगका अनुसार २५ हजार रुपैयाँभन्दा बढी रकम प्राप्त गर्दा अनिवार्य रूपमा बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था छ।

उम्मेद्वारले उम्मेद्वारी दर्ताका क्रममा अनुमानित खर्च र त्यसको स्रोत खुलाउनुपर्ने प्रावधान आचारसंहितामा स्पष्ट छ।

बैंक खाता खोल्दा छुट्टै पदाधिकारी तोक्नुपर्ने, खातामा आएको रकम र खर्चको बिल-भर्ना सुरक्षित राख्नुपर्ने व्यवस्था आयोगले लागू गरेको छ।

प्रत्येक जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ।

उनीहरूले राजनीतिक दल र उम्मेद्वारको खर्च, स्रोत र सार्वजनिक सम्पत्तिको प्रयोगको अनुगमन गर्ने जिम्मेवारी पाएका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.