Nidan Media

समयमै निर्वाचन हुनेमा विश्वस्त छन् ७१ प्रतिशत मतदाता

काठमाडौँ । तोकिएकै मितिमा प्रतिनिधिसभाको निर्वाचन हुनेमा सरोकारवाला निकायहरू विश्वस्त रहेको एक अध्ययनले देखाएको छ। ‘निर्वाचनको वातावरणसम्बन्धी अध्ययन’ अनुसार यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन समयमै सम्पन्न हुनेमा आम मतदाता, राजनीतिक दल, सुरक्षा निकाय र स्थानीय तहका नेता–कार्यकर्ताहरू ढुक्क देखिएका छन्।

नेपाल कानून समाजले ३५ जिल्लाका ३३ स्थानीय तहमा गरेको अध्ययनमा ७१ प्रतिशत मतदाताले समयमै निर्वाचन हुने विश्वास व्यक्त गरेका छन्। १६ देखि २९ वर्ष उमेर समूहका ७२ प्रतिशत युवामा यो विश्वास बढी देखिएको छ। प्रदेशगत रूपमा मधेस प्रदेशमा विश्वास सबैभन्दा उच्च ७९ प्रतिशत छ भने कर्णाली प्रदेशमा केही शंका देखिएको प्रतिवेदनमा उल्लेख छ। शान्ति सुरक्षाको जिम्मेवारी सम्हालेका ९१ दशमलव ७ प्रतिशत सुरक्षाकर्मी पनि तोकिएको मितिमा निर्वाचन हुनेमा विश्वस्त देखिएका छन्।

अध्ययनअनुसार निर्वाचन सुनिश्चित हुने आधारका रूपमा सरकार र निर्वाचन आयोग को तयारी, अनुकूल राजनीतिक वातावरण र दलहरूको सक्रियतालाई औँल्याइएको छ।

यद्यपि जेन–जी आन्दोलनका क्रममा लुटिएका हतियार, फरार कैदीबन्दी, आपराधिक समूहको सक्रियता तथा उम्मेद्वारबीचको अस्वस्थ प्रतिस्पर्धालाई प्रमुख सुरक्षा चुनौती मानिएको छ। जोखिमका आधारमा विशेष सुरक्षा रणनीति अपनाइएको र संवेदनशील मतदान केन्द्रमा छुट्टै सुरक्षा योजना लागू गरिएको अध्ययनमा उल्लेख छ।

सामाजिक सञ्जालको प्रभाव युवामाझ बढी देखिएको छ। जेन–जी समूहका ३२ प्रतिशत मतदाताले मतदान निर्णयमा सामाजिक सञ्जालको ठूलो प्रभाव पर्ने बताएका छन्। तर ३४ प्रतिशत मतदाताले पैसा र पहुँचको दुरुपयोग हुनसक्ने भन्दै निर्वाचनको स्वच्छताप्रति चिन्ता व्यक्त गरेका छन्।

अध्ययनले नयाँ राजनीतिक शक्तिप्रति मतदाताको आकर्षण बढेको पनि देखाएको छ। ८४ प्रतिशत मतदाताले नयाँ शक्तिको उदय हुने अपेक्षा गरेका छन् भने ३९ प्रतिशतले नयाँ दललाई मतदान गर्ने मनसाय व्यक्त गरेका छन्। समग्रमा केही सुरक्षा चुनौती रहे पनि सरकारी तयारी, दलहरूको सक्रियता र मतदाताको उत्साहका कारण फागुन २१ को निर्वाचन तोकिएकै मितिमा हुने निष्कर्ष अध्ययनले निकालेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.