Nidan Media

इंग्ल्यान्ड टी-२० विश्वकपको सेमिफाइनलमा, पाकिस्तान संकटमा

काठमाडौं । कप्तान ह्यारी ब्रूकको शानदार शतकमा इंग्ल्यान्डले पाकिस्तानलाई पराजित गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् टी-२० विश्वकप २०२६ को सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ।

सुपर आठ अन्तर्गत मंगलबार राति श्रीलङ्काको पालिकेले रंगशालामा भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई दुई विकेटले हराउँदै एक खेल अगावै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो।

१६५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले पाँच बल बाँकी रहँदा आठ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। ब्रूकले ५१ बलमा १० चौका र चार छक्कासहित शतकीय इनिङ खेले। उनी आउट भएपछि इंग्ल्यान्डले लगातार विकेट गुमाउँदा खेल निकै रोमाञ्चक बनेको थियो।

अन्तिम ओभरको पहिलो बलमै जोफ्रा आर्चरले चौका प्रहार गर्दै टोलीलाई जित दिलाए। विल ज्याक्सले २८ तथा साम करानले १६ रनको योगदान दिए।

पाकिस्तानका तर्फबाट शाहीन अफ्रिदीले चार विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्। उसमान तारिकले दुई विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा नौ विकेट गुमाउँदै १६४ रन बनाएको थियो। ओपनर शाहिबजादा फरहानले अर्धशतकसहित सर्वाधिक ६३ रन बनाए। ४५ बल खेलेका फरहानले सात चौका र दुई छक्का प्रहार गरे। बाबर आजम र फखार जमानले समान २५–२५ रन जोडे।

इंग्ल्यान्डका बलरमध्ये लियाम डसनले चार ओभरमा २४ रन खर्चेर तीन विकेट लिए। जोफ्रा आर्चर र जेमी ओभरटनले दुई–दुई विकेट तथा आदिल राशिदले एक विकेट लिए।

सुपर आठको समूह दुईमा रहेको इंग्ल्यान्डले यसअघि श्रीलङ्कालाई पनि पराजित गरिसकेको छ। दुई खेलबाट चार अंक जोड्दै इंग्ल्यान्डले सेमिफाइनल खेल्ने स्थान पक्का गरेको छ। पराजयपछि पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना निकै कमजोर बनेको छ।

अब श्रीलङ्कामाथि जित निकाल्नुका साथै अन्य खेलका नतिजामा पनि उसले भर पर्नुपर्ने अवस्था आएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.