काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई सङ्घीय संसद्बाट हटाइए पनि जनताको मनबाट हटाउन नसकिएको दाबी गरेका छन्।
झापा-२ मा आयोजित कार्यक्रममा बोल्दै उनले जनताको आदेशभन्दा ‘बा’को आदेश ठूलो ठानेर दुई घण्टामै सूचना टाँसेर आफूलाई संसद्बाट निकालिएको आरोप लगाए।
उनले भने, “जनताको आदेशभन्दा संसद्मा ‘बा’को आदेश ठूलो भयो। दुई घण्टामै सूचना टाँसेर मलाई गलहत्त्याएर संसद्भित्रबाट निकालियो, तर जनताको मनबाट निकाल्न सकिएन।”
दलको आदेशलाई सर्वोपरी ठानेर जनताको आवाज संसद्भित्र दबाउनेहरूले आज कुन अनुहार लिएर भोट मागिरहेका छन् भन्ने प्रश्न गर्दै लामिछानेले यस निर्णयलाई लोकतान्त्रिक मूल्यविपरीत भएको टिप्पणी गरे।
भिजिट भिसा प्रकरणको छानबिन माग गर्दा रास्वपाका २१ जना सांसदलाई बल प्रयोग गरेर सदनबाट निकालिएको दाबी गर्दै उनले संसद् नियमावलीअनुसार थुनामा नरहेको व्यक्तिको सांसद पद निलम्बन नहुने स्पष्ट प्रावधान रहेको बताए।
“मुद्दाको किनारा नलाग्दासम्म थुनामा नरहेको मान्छेको सांसद पद निलम्बन हुँदैन भन्ने संसद्ले सदर गरेको नियमावलीमा स्पष्ट छ,” उनले भने।
सभापति लामिछानेले आफू इन्दिरा राना मगरको पक्षमा दृढतापूर्वक उभिएको उल्लेख गर्दै भने, “म इन्दिरा राना मगरको पक्षमा खडा भएको छु, गर्वका साथ खडा भएको छु।”





