काठमाडौँ । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर-८ को खेलमा वेस्ट इन्डिज क्रिकेट टोलीले जिम्बाबे क्रिकेट टोलीलाई १०७ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
सोमबार राति वानखेडे स्टेडियममा भएको खेलमा वेस्ट इन्डिजले दिएको २५५ रनको लक्ष्य पछ्याएको जिम्बाबे १७.४ ओभरमै १४७ रनमा अलआउट भयो।
जिम्बाबेका लागि ब्राड्ली इभान्सले २१ बलमा ४३ रनको संघर्षपूर्ण पारी खेले भने डियन मेयर्सले २८ र कप्तान सिकन्दर राजाले २७ रन जोडे।
वेस्ट इन्डिजका गुडाकेश मोटीले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए। अकिल होसेनले ३ तथा म्याथ्यु फोर्डेले २ विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले शिम्रोन हेटमायर र रोभमन पावेलको आक्रामक अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर २५४ रनको विशाल योगफल बनाएको थियो।
हेटमायरले ३४ बलमा ७ चौका र ७ छक्कासहित ८५ रन बनाए भने पावेलले ३५ बलमा ५९ रन जोडे। शेरफन रदरफोर्ड ३१ रनमा अविजित रहे।
यो टी-२० विश्वकप इतिहासकै दोस्रो ठूलो टोली योगफल हो। सर्वाधिक योगफलको कीर्तिमान श्रीलंका क्रिकेट टोली ले सन् २००७ मा केन्या क्रिकेट टोली विरुद्ध बनाएको २६० रन हो।
जितसँगै वेस्ट इन्डिजले सुपर-८ समूह १ मा २ अंक जोडेको छ। यो समूहमा दक्षिण अफ्रिका क्रिकेट टोली को पनि २ अंक रहेकामा नेटरनरेटका आधारमा वेस्ट इन्डिज शीर्ष स्थानमा उक्लिएको छ।




