Nidan Media

वीरगञ्जमा लगाइएको कर्फ्यू हटाइयो, निषेधाज्ञा जारी

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिकामा लगाइएको कर्फ्यू आदेश सोमबार अपराह्न साढे ४ बजेपछि हटाइएको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार बिहान पौने १० बजेदेखि लागू गरिएको कर्फ्यू हटाइए पनि साँझ ६ बजेदेखि भोलि बिहान ८ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ।

निषेधाज्ञा पूर्वमा बाइपास रोड, पश्चिममा रानीघाट पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा घण्टाघर चोकसम्म लागू हुनेछ। यस अवधिमा भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको छ।

आइतबार साँझ सवारी पार्किङको विषयलाई लिएर छिमेकीबीच विवाद बढ्दै झडपमा परिणत हुँदा केही युवा घाइते भएका थिए। उक्त घटनापछि सोमबार पुनः तनाव बढेपछि स्थिति नियन्त्रणमा राख्न कर्फ्यू जारी गरिएको थियो।

यसअघि सोमबार नै प्रमुख जिल्ला अधिकारी दाहालको अध्यक्षतामा सद्भाव संयन्त्रको बैठक बसेको थियो। बैठकले दोषीमाथि कारबाही गर्ने, पीडितको जाहेरी लिने र कानुनी प्रक्रियामा धार्मिक अगुवाहरूले सहजीकरण गर्ने निर्णय गरेको छ।

साथै व्यक्तिगत घटनालाई लिएर धार्मिक तथा सामाजिक सद्भाव भड्काउने, दुष्प्रचार गर्ने र सामाजिक सञ्जालमा हेट स्पिच फैलाउनेलाई साइबर कानुन अनुसार कारबाही गर्ने निर्णय भएको छ। धार्मिक सद्भाव कायम राख्न सरोकारवाला सबैले विज्ञप्ति जारी गर्ने निर्णय पनि गरिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.