Nidan Media

धादिङ बस दुर्घटनामा ज्यान गुमाउने १९ जनाकै सनाखत, सरकारले बनायो छानबिन समिति

पोखरा । धादिङको बेनीघाट रोराङ गाउँपालिका ५ भैँसीगौडास्थित पृथ्वी राजमार्गमा शनिबार बिहान भएको यात्रुबाहक बस दुर्घटनामा ज्यान गुमाउने १९ जनाकै सनाखत भएको छ ।

पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग२ख १४२१ नम्बरको बस सडकबाट झन्डै २०० मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा तनहुँका पाँच जना, कास्कीका चार जना, तीन विदेशी नागरिक, काठमाडौं र स्याङ्जाका २/२ जना, मोरङ र धादिङका एक-एक जना रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता प्रकाश दाहालले मृतकको शव आफन्तद्वारा पहिचान गर्ने कार्य सम्पन्न भएको बताए ।

दुर्घटनामा ज्यान गुमाउने विदेशी नागरिकमा बेलायती नागरिक २४ वर्षीय स्टुअर्ट डोमिनिक इथान, ३२ वर्षीय भारतीय नागरिक मनिष सुक्ला र ४० वर्षीया चिनियाँ नागरिक झाङ चुनचुन रहेका छन् ।

यस्तै कास्कीको पोखरा महानगरपालिका ३० का ४० वर्षीय बिबेक बस्तोला, पोखरा महानगरपालिका १४ की २१ वर्षीया अञ्जली क्षेत्री, पोखरा महानगरपालिका १९ का २६ वर्षीय सुजित नेपाली र माछापुच्छ्रे गाउँपालिका ३ का २१ वर्षीय रोहित नेपालीको मृत्यु भएको छ ।

तनहुँको व्यास गाउँपालिका ४ का ४० वर्षीय ओम कुमार मल्ल, शुक्लागण्डकी गाउँपालिका ७ का ६३ वर्षीय रुद्र प्रसाद ढकाल, सोही वडाकी ५५ वर्षीया विष्णु माया ढकाल, शुक्लागण्डकी ३ की २० वर्षीया अर्चना पौडेल र भिमदत्त नगरपालिका ६ का ४५ वर्षीय हरि प्रसाद सिग्देल छन् ।

स्याङ्जाको वालिङ १४ घर भई हाल काठमाडौँको नागार्जुन ६ बस्ने ६३ वर्षीय चन्द्र बहादुर कुँवर र पुतलीबजार नगरपालिका ६ का ४५ वर्षीय घनश्याम सुवेदीको पनि सोही दुर्घटनामा मृत्यु भएको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ६ बौद्धका ४२ वर्षीय लोप्साङ गोले र वडा नम्बर ३२ बुद्धनगरकी ३३ वर्षीया अनिशा महर्जनको पनि मृत्यु भएको छ ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ४ का ३० वर्षीय इन्जिनियर ठकुरी, पाल्पा तानसेन नगरपालिका २ का ५५ वर्षीय नबिन्द्र श्रेष्ठ र मोरङ उर्लाबारी १ की २७ वर्षीया हिरा चौधरी रहेका छन् ।

दुर्घटनापछि प्रहरी र स्थानीयले उद्धार गरी घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाएका थिए भने मृतकको शव पोस्टमार्टमका लागि व्यवस्थापन गरिएको छ । बसमा चालकसहित जम्मा ४४ जना यात्रु सवार थिए । जसमा २९ जना पुरुष र १५ जना महिला थिए ।

बस दुर्घटनामा घाइते भएका २५ जनाको काठमाडौंको नेशनल सिटी अस्पतालमा, ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

यस्तै धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैँसीगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको यात्रुवाहक बसको दुर्घटनाबारे छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको गृह प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

गृहमन्त्री ओमप्रकाश अर्यालले गएराति धादिङमा भएको बस दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिए । उनले कलङ्कीस्थित नेपाल नेशनल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर घाइतेहरूको अवस्था र उपचारबारे जानकारी लिएका हुन् ।

यसैबीच बस दुर्घटनाबारे छानबिन गर्न सरकारले कार्यदल गठन गरेको छ । गृह मन्त्रालयले दुर्घटना छानबिनका लागि सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको गृह प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरू, यातायात विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक तथा यातायात व्यवसायी र मजदुर संघलगायत मन्त्रालयका पदाधिकारीहरूको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो । कार्यदललाई बस दुर्घटनाको सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न भनिएको छ ।

यसैबीच दुर्घटनामा परेको उक्त बस पोखराबाट आइतबार साँझ ७ बजे छुटेको बताइएको छ। माछापुच्छ्रे टूर्स एण्ड ट्राभल्सको बस पोखराबाट ३४ जना यात्रुसहितको चलानी लिएर छुटेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष ऐनकुमार साइले जानकारी दिए।

उक्त बस तनहुँ जामुनेका ओमकुमार श्रेष्ठको भएको र श्रेष्ठ पनि सोही बसमा सवार रहेको साइले बताए । बसको चालक सुजित नेपालीको अवस्था भने हालसम्म अज्ञात नै रहेको छ ।

मेयर आचार्यद्वारा दुःख व्यक्त

बस दुर्घटनाप्रति पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुःख व्यक्त गर्दै दुर्घटनाको खबरले आफू अत्यन्त स्तब्ध र मर्माहत भएको उनले उल्लख गरेका छन् ।

आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनामा ज्यान गुमाएका १९ जना यात्रुहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

दुर्घटनामा घाइते भएका १९ जना यात्रुहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले घटनास्थलमा खटिएर उद्धार कार्यमा सक्रिय रहेका सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन टोली, गोताखोर तथा स्थानीय दाजुभाइ दिदीबहिनीहरूप्रति धन्यवाद व्यक्त गरे ।

दुःखको यस घडीमा शोकाकुल तथा मर्माहत परिवारजनलाई हरसम्भव सहयोग र मानवीय संवेदनशीलता प्रदर्शन गर्न पनि उनले आग्रह गरे ।

बस दुर्घटनाप्रति कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलगायतले पनि दुःख व्यक्त गरेका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.