पोखरा । कास्की क्षेत्र नं ३ का कांग्रेस उम्मेद्वार मनोज गुरुङले जनताको विश्वास जित्ने लक्ष्यका आफू चुनावी मैदानमा उत्रिएको बताएका छन्।
निर्वाचन प्रचारअन्तर्गत सोमबार पोखरा-५ का मतदाता भेटघाटका क्रममा उनले यस्तो बताएका हुन्।
साथै उनले मतदाताको समर्थनसहित विजयी बन्ने आकांक्षा व्यक्त गर्दै समुन्नत र सुशासनयुक्त नेपाल निर्माणमा आफू र कांग्रेस पार्टी लाग्ने स्पष्ट पारे।
उनले मतदाताको आवाज सुन्ने, साथ दिने प्रतिबद्धता व्यक्त गर्ने र समस्या समाधानका लागि व्यवहारिक सुझाव संकलन पनि गरिरहेका छन् ।
गुरुङले राजनीतिक भाषणमा मात्र सीमित नभई व्यवहारमै समाजसँग जोडिएर काम गर्ने स्पष्ट पारे।
उनले कास्की-३ को समग्र विकासलाई केन्द्रीय एजेण्डा बनाउने संकल्प पनि गरे।
पूर्वाधार विकासमा सडक सञ्जाल विस्तार, खानेपानी तथा सिँचाइ व्यवस्थामा सुधार गर्ने उनको प्रतिबद्धता छ ।
यस्तै शिक्षा र स्वास्थ्यमा विद्यालय र स्वास्थ्य संस्थाको गुणस्तर अभिवृद्धि गर्नुका साथै रोजगारी सिर्जनामा स्थानीय उत्पादन र साना उद्योग प्रवर्द्धनमार्फत रोजगार अवसर विस्तार गर्ने गुरुङको लक्ष्य छ। सीपमूलक तालिम, उद्यमशीलता प्रवर्द्धन र प्रविधिसँग युवालाई जोड्न पहल गर्ने उनको अठोट छ।

समानुपातिकतर्फका उम्मेद्वार आइबहादुर गुरुङले वर्तमान कांग्रेसलाई समयअनुसार थप जनमुखी बनाउँदै युवाको सहभागिता बढाउने, स्थानीय तहसँग समन्वय सुदृढ गर्ने र नीतिगत स्पष्टता ल्याउने आवश्यकता रहेको बताए ।
उनले आसन्न निर्वाचनलाई परिवर्तनको अवसरका रूपमा लिइएको भन्दै शिक्षा, स्वास्थ्य, रोजगारी र सार्वजनिक सेवा सुधारलाई प्राथमिक एजेन्डा बनाएको स्पष्ट पारे।
कांग्रेस नेता रामजीप्रसाद कोइरालाले पार्टीभित्रको आन्तरिक एकता बलियो बनाउँदै तल्लो तहसम्म संगठन विस्तार गर्न सके मात्र आगामी निर्वाचनमा जनविश्वास जित्न सकिने बताए ।
नेता पुरुषोत्तम प्रसाद पराजुलीले कांग्रेसको ऐतिहासिक योगदान स्मरण गराउँदै लोकतन्त्र, मानवअधिकार र समावेशिताका पक्षमा पार्टी सधैँ अग्रपंक्तिमा उभिएको दाबी गरे ।
उनले जनताका दैनन्दिन समस्यामा केन्द्रित कार्यक्रम ल्याएर विश्वास पुनःस्थापित गर्नुपर्नेमा जोड दिए।
पराजुलीले जिम्मेवार राजनीति, पारदर्शिता र जवाफदेहितामार्फत कांग्रेसलाई बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने बताए ।




