काठमाडौँ । पाकिस्तानले छिमेकी अफगानिस्तानका नङ्गरहार, पक्तिका र खोस्त प्रान्तका सात स्थानमा हवाई आक्रमण गरेको जनाएको छ ।
पाकिस्तानी सञ्चारमाध्यम जियो न्यूजका अनुसार आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको इस्लामाबादका सुरक्षा स्रोतले दाबी गरेका छन् ।
पछिल्लो आत्मघाती आक्रमणको प्रतिक्रियामा कारबाही गरिएको भन्दै सरकारले सीमापार रहेका आतङ्कवादी शिविरलाई निशाना बनाइएको जनाएको छ ।
आक्रमण नङ्गरहारको खोग्यानी जिल्ला र पक्तिकाको बरमल क्षेत्रसहित केही लुकेका स्थानमा केन्द्रित थियो ।
पाकिस्तानका आन्तरिक राज्यमन्त्री तलाल चौधरीले सीमापार कारबाहीमा करिब ७० जना आतङ्ककारी निस्क्रिय पारिएको दाबी गरेका छन् ।
सरकारले प्रतिबन्धित तहरीक-ए-तालिबान पाकिस्तान र इस्लामिक स्टेट–खोरासन प्रान्तसँग जोडिएका समूहलाई लक्षित गरिएको बताएको छ । पछिल्ला वर्षहरूमा इस्लामाबाद र काबुलबीच सुरक्षा तनाव बढ्दै आएको छ ।




