Nidan Media

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यू [सूचनासहित]

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा सुरक्षा अवस्था गम्भीर बनेपछि आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

प्रशासनले पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै सोमबार एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

प्रशासनले सोमबार बिहान पौने १० बजेदेखि लागू हुने गरी महानगरका मुख्य क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी आदेशमा अर्को सूचना नभएसम्मका लागि सर्वसाधारणको आवतजावत र भेला हुन पूर्ण प्रतिबन्ध लगाइएको बताए।

प्रशासनले कर्फ्यू लागू हुने क्षेत्रको चार किल्ला समेत स्पष्ट पारेको छ। जसमा पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा नेपाल(भारत सीमा नजिकैको शंकराचार्य गेटभित्रको सम्पूर्ण भूभागमा कर्फ्यू लगाइएको छ।

यो सीमाना भित्र कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारको जुलुस निकाल्न, सभा-सम्मेलन गर्न, बैठक बस्न वा घेराउ जस्ता गतिविधि गर्न नपाउने गरी स्थानीय फ्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कडा कदम चालिएको हो।

कर्फ्यू आदेश जारी भए पनि मानवीय संवेदनशीलता र अत्यावश्यक सेवालाई भने प्रशासनले खुकुलो बनाएको छ। एम्बुलेन्स, दमकल, शव वाहन र स्वास्थ्यकर्मीका सवारी साधनहरूलाई निर्वाध रूपमा चल्न दिइनेछ।

यस्तै ,सञ्चारकर्मी, विश्वविद्यालयका पूर्व निर्धारित परीक्षामा सामेल हुने परीक्षार्थी तथा कर्मचारी, पर्यटकका सवारी साधन र कूटनीतिक नियोगका गाडीहरूलाई पनि सुरक्षाकर्मीले सहजीकरण गर्ने जारी विज्ञप्तिमा भनिएको छ।

हवाई टिकट भएका यात्रुहरूको हकमा उनीहरूको यात्रा प्रभावित नहोस् भन्नका लागि आवागमनमा अवरोध नगर्ने नीति प्रशासनले लिएको हो।

पछिल्ला केही घटनाक्रमले वीरगञ्जमा सुरक्षा चुनौती थपेको र सामाजिक सद्भावमा आँच आउन सक्ने सम्भावना देखिएपछि प्रशासनले यो कठोर निर्णय लिनुपरेको जनाएको छ ।

हाल वीरगञ्जका मुख्य चोक र गल्लीहरूमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको समेत प्रशासनले जाकारी गराएको हो। आदेश उल्लंघन गर्नेलाई कानून बमोजिम कडा कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.