पोखरा । धादिङमा गएराति भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । घटनास्थलमा १७ जना र थप दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखराबाट काठमाडौँ जाँदै गरेको ग१ख १४२१ नम्बरको बस गए राति करिब १ः३० बजे धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ भैंसीगौँडास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको थियो ।
दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । घाइतेहरूको धादिङ र काठमाडौँमा उपचार भइरहेको बताइएको छ । दुर्घटनाको कारण खुलेको छैन ।
दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनील गिरीको कमान्डमा टोली उद्धारका लागि खटिएको थियो ।
यस्तै नेपाल प्रहरी, नेपाली सेना र स्थानीयसमेत उद्धारका खटिएका थिए ।
यसैबीच दुर्घटनामा परेको उक्त बस पोखराबाट आइतबार साँझ ७ बजे छुटेको बताइएको छ। माछापुच्छ्रे टूर्स एण्ड ट्राभल्सको बस पोखराबाट ३४ जना यात्रुसहितको चलानी लिएर छुटेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष ऐनकुमार साइले जानकारी दिए।
उक्त बस तनहुँ जामुनेका ओमकुमार श्रेष्ठको भएको र श्रेष्ठ पनि सोही बसमा सवार रहेको साइले बताए । बसको चालक सुजित नेपालीको अवस्था भने हालसम्म अज्ञात नै रहेको छ ।
मेयर आचार्यद्वारा दुःख व्यक्त
बस दुर्घटनाप्रति पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुःख व्यक्त गर्दै दुर्घटनाको खबरले आफू अत्यन्त स्तब्ध र मर्माहत भएको उनले उल्लख गरेका छन् ।
आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनामा ज्यान गुमाएका १९ जना यात्रुहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
दुर्घटनामा घाइते भएका १९ जना यात्रुहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले घटनास्थलमा खटिएर उद्धार कार्यमा सक्रिय रहेका सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन टोली, गोताखोर तथा स्थानीय दाजुभाइ दिदीबहिनीहरूप्रति धन्यवाद व्यक्त गरे ।
दुःखको यस घडीमा शोकाकुल तथा मर्माहत परिवारजनलाई हरसम्भव सहयोग र मानवीय संवेदनशीलता प्रदर्शन गर्न पनि उनले आग्रह गरे ।
बस दुर्घटनाप्रति कांग्रेस सभापति गगन थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि दुःख व्यक्त गरेका छन्।





