Nidan Media

दुई समुदायबीच झडप भएपछि गौरमा सेनासहित तीनै तहका सुरक्षाकर्मी परिचालन

रौतहट । रौतहटको गौर नगरपालिका-६ स्थित सनगढा गाउँमा दुई समुदायबीच झडप भएपछि अवस्था तनावपूर्ण बनेको छ।

अहिले सो क्षेत्रमा घटनाले उग्र रूप लिएसँगै शान्ति-सुरक्षा कायम गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

घट्ना बिहीबार राति हिन्दू समुदायको विवाहमा जाँदा बाजागाजा बजाइएको विषयलाई लिएर मुस्लिम समुदायसँग विवादबाट शुरू भएको थियो ।

मस्जिदमा रात्रि प्रार्थना भइरहेको समयमा बाजा बजाएको भन्दै भनाभन बढेपछि केही व्यक्तिमाथि कुटपिटसमेत भएको थियो ।

उक्त घटनापछि शुक्रबार बिहानैदेखि पुनः दुवै पक्षबीच झडप भई ढुंगामुढा शुरू भएको छ ।

यसले गाउँमा त्रासको वातावरण सिर्जना गरेको छ । स्थिति नियन्त्रणमा लिन प्रशासनले तत्काल सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले घटनाको पुष्टि गर्दै नेपाल प्रहरीका एसपी सीताराम रिजाल र सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी घटनास्थल पुगेको जानकारी दिएका छन् ।

उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी अढाई सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

घाइते वा पक्राउबारे आधिकारिक विवरण आउन बाँकी छ भने घटनाको विस्तृत अनुसन्धान जारी रहेको रौतहट प्रशासनले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.