पोखरा । पोखरा महानगरपालिकाले फेवाताल किनार क्षेत्रमा हालसालै निर्माण गरिएका अवैध संरचना १५ दिनभित्र हटाउन अत्यन्त जरुरी सार्वजनिक सूचना जारी गरेको छ ।
महानगरपालिकाका अनुसार तालको मापदण्डसम्बन्धी सर्वोच्च अदालतको फैसला कार्यान्वयनका क्रममा फेवातालको जल सतहको उच्चतम बिन्दु पहिचान गरी तालको सिमाङ्कन कार्य सम्पन्न भइसकेको छ ।
महानगरपालिकाले यो सिमाङ्कन कार्य गण्डकी प्रदेश सरकार तथा नेपाल सरकार सँगको संयुक्त पहलमा सम्पन्न गरिएको जनाएको छ ।
सिमाङ्कनपछि पनि सर्वोच्च अदालतले कायम गरेको जल सतहको उच्चतम बिन्दु (तालघर) र त्यसबाट ६५ मिटरभित्र पर्ने क्षेत्रमा रातारात घर, टहरा लगायतका संरचना निर्माण भएको पाइएकाले महानगरको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।
सिमाङ्कनअघि निर्माण भएका संरचनाबारे सर्वोच्च अदालतको आदेशअनुसार प्रक्रिया अघि बढाइने र अबदेखि ६५ मिटर क्षेत्रभित्र नयाँ संरचना निर्माण नगर्न नगराउन पटक–पटक आग्रह गरिएको महानगरपालिकाको भनाइ छ।
सूचनाको मितिले १५ दिनभित्र सिमाङ्कनपश्चात् निर्माण गरिएका सबै अनधिकृत संरचना सम्बन्धित पक्षले आफैं हटाउनुपर्नेछ ।
तोकिएको समयभित्र संरचना नहटाएमा महानगरपालिकाले कानुन बमोजिम हटाउने र त्यस क्रममा लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिनेछ ।
साथै, ६५ मिटर क्षेत्रभित्र पर्ने जग्गाको वर्गीकरण (मुआब्जा पाउने वा दूषित बदर हुने कित्ता) सम्बन्धी कार्य अन्तिम चरणमा पुगेको महानगरपालिकाले जनाएको छ ।




