काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी युवाहरूमाझ लोकप्रिय रहेको सामाजिक सञ्जाल टिकटकलाई निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षाको माध्यम बनाउने भएको छ।
फागुन २१ गतेका लागि तय भएको निर्वाचनलाई भव्य र सभ्य बनाउन आयोगले टिकटक भिडियो प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो।
यस अभियानमार्फत रमाइलोका लागि प्रयोग हुँदै आएको टिकटकलाई राष्ट्रिय निर्वाचनमा योगदान पुर्याउने र मतदातालाई सचेत गराउने कार्यमा प्रयोग गरिनेछ।
प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिले निर्वाचन आचारसंहिता र मतदाता शिक्षाका विभिन्न पक्षहरूलाई समेटेर बढीमा एक मिनेटसम्मको भिडियो तयार पार्नुपर्नेछ।
सहभागीहरूले निर्वाचनको महत्व, मतपत्रमा छाप लगाउने सही तरिका, मतदाताको अधिकार र कर्तव्य तथा योग्य उम्मेद्वार छनोट जस्ता विषयमा आधारित सन्देशमूलक र संवादमूलक भिडियो बनाउनुपर्ने प्रावधान राखिएको छ। यस्ता भिडियोहरू आफ्नै मौलिक अडियो र अभिनयमा आधारित हुनुपर्नेछ जसलाई आयोगले विशेष प्राथमिकता दिने जनाएको छ।
सहभागीले तयार पारेको भिडियो आफ्नो सामाजिक सञ्जालमा राख्नुका साथै आगामी फागुन १७ गतेसम्म आयोगको इमेल ठेगानामा पठाइसक्नुपर्नेछ। आयोगले प्राप्त भिडियोहरूमध्ये सबैभन्दा धेरै दर्शक वा भ्युअर्स सङ्ख्याका आधारमा उत्कृष्ट तीन टिकटकलाई नगद पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ। जसमा पहिलो हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ।
यस प्रतियोगितामा व्यक्तिगत रूपमा वा समूहगत रूपमा पनि भिडियो बनाएर पठाउन सकिनेछ भने प्राप्त भिडियोहरूको अन्तिम अधिकार आयोगमै रहनेछ।
आयोगले उत्कृष्ट ठहरिएका भिडियोहरूलाई आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत मतदाता शिक्षाका लागि उपयोग गर्ने योजना बनाएको छ। भिडियोको छनोट भने स्वतन्त्र विज्ञ र आयोगको प्रतिनिधि सम्मिलित टोलीले गर्नेछ।





