काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले आगामी निर्वाचनपछि गठन हुने एमाले नेतृत्वको सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाटै ११ ओटा प्राथमिकताका कामहरू समयसीमा तोकेर कार्यान्वयनमा लैजाने घोषणा गरेका छन्।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई मूर्त रूप दिन सुशासन, विकास र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखिएको उनले स्पष्ट पारे ।
घोषणापत्रमा तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा र दीर्घकालीन समृद्धिका २५ स्तम्भ समेटिएको उल्लेख गर्दै ओलीले भने, “निर्वाचनपछि बन्ने सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाटै निर्णय गरेर ती ११ काम अघि बढाइनेछ।”
अध्यक्ष ओलीले पछिल्लो समय चर्चामा आएको पुस्तान्तरण र अन्तरपुस्ता द्वन्द्वको बहसलाई भ्रमपूर्ण व्याख्या बताए। “यो देश पुस्ताहरूबीचको द्वन्द्वले बनेको होइन, न त द्वन्द्वले बन्छ,” उनले प्रष्ट पारे।
युवालाई ‘आगो’ र अनुभवलाई ‘उज्यालो’सँग तुलना गर्दै उनले दुवैको संयोजनबाट मात्रै राष्ट्रको भविष्य उज्ज्वल हुने जिकिर गरे।
“युवा आगो हो-तर आगोलाई दिशा चाहिन्छ। अनुभव उज्यालो हो-तर उज्यालोलाई ऊर्जा चाहिन्छ। आगो र उज्यालो मिलेर मात्र देशको भविष्य उज्यालो हुन्छ,” उनले भने।
ओलीका अनुसार एमालेको रणनीति पुस्ता-पुस्ता जोड्ने, मिलाउने र सबैलाई साथ लिएर अघि बढ्ने रहेको छ।
यस निर्वाचनलाई सामान्य पुस्तान्तरको प्रतिस्पर्धा नभई ‘देश बनाउने र भत्काउनेबीचको जनमत संग्रह’ भएको उनको दाबी छ। “यो निर्वाचन राष्ट्रघात र स्वाभिमानबीचको संघर्ष पनि हो,” ओलीले जोड दिए।
उनले राष्ट्रिय स्वाभिमानको रक्षा, संविधानको संरक्षण र लोकतन्त्रको सुदृढीकरणका लागि सबै नेपाली नागरिकलाई ‘देश पहिला’ भन्ने भावनाका साथ मतदान गर्न अपील गरेका छन्।
सुशासन, समृद्धि र स्वाभिमानलाई केन्द्रमा राख्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी निर्वाचनलाई निर्णायक मोडका रूपमा प्रस्तुत गरेको छ। अब फैसला जनताको हातमा छ।





