सर्लाही । सर्लाहीमा बुधबार साँझ तीन ओटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्लाको ईश्वरपुर नगरपालिका वडानं १३ स्थित बाके-संग्रामपुर सडकखण्ड अन्तर्गत ठिल्ला नजिक उक्त दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार बीआर ३० एआर ३४५८, बिआर ३० एपी ३८०९ र एचपी ५५ सी ०६२३ नम्बरका मोटरसाइकलहरू दुर्घटनाग्रस्त अवस्थामा रहेको खबर प्राप्त भएपछि प्रहरीको टोली खटिएको थियो ।
दुर्घटनामा घाइते चार जनालाई एम्बुलेन्समार्फत लालबन्दीस्थित मोडेल अस्पताल पठाइएको थियो।
तीमध्ये दुई जनाको अवस्था गम्भीर देखिएकाले थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा रिफर गरिएको थियो ।
गम्भीर घाइतेमध्ये हरिपुर्वा नगरपालिका वडा नं ९ निवासी सिंगेश्वर रायका छोरा अन्दाजी ३० वर्षीय मुकेश रायलाई राति मलंगवा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
यसैगरी सोही स्थानका रामछबिल्ला रायका छोरा अन्दाजी ३५ वर्षीय रामज्ञान रायलाई पनि थप उपचारका लागि मलंगवा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा हरिपुर्वा नगरपालिका वडा नं ९ कै २२ वर्षीय विक्रम राय र ४२ वर्षीय राम विश्वास राय घाइते भएका छन्।
उनीहरूको मोडेल अस्पतालमा सामान्य उपचारपछि इलाका प्रहरी कार्यालय केशरगञ्जको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न तीन ओटै मोटरसाइकल प्रहरी चौकी गौरीशंकरको नियन्त्रणमा रहेका छन् ।
घटनामा चालकको पहिचान तथा दुर्घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




