Nidan Media

भाषाविद् मुकुन्दशरण उपाध्यायलाई हेमराज पहारी स्मृति पुरस्कार

पोखरा । साहित्यकार एवं भाषाविद् मुकुन्दशरण उपाध्यायलाई हेमराज पहारी स्मृति पुरस्कार २०८२ प्रदान गरिने भएको छ ।

साहित्यकार/समाजसेवी हेमराज पहारीको स्मृतिमा स्थापित र सञ्चालित यो पुरस्कारको राशि नगद एक लाख र ताम्रपत्र छ ।

पुरस्कृत प्रतिभा उपाध्यायका वरदान, प्राकृत पोखरा, धर्ती र आकाश, महाभारत सूक्तिसुधा लगायतका दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनको प्राकृत पोखराले मदन पुरस्कार प्राप्त गरेको थियो ।

भाषा साहित्यका सेवक स्वर्गीय हेमराज पहारीको नाममा गठित हेमराज पहारी स्मृति प्रतिष्ठाको हालै बसेको बैठकले सो निर्णय गरेको हो ।

पुरस्कारका लागि योग्य प्रतिभा छनोटका लागि महाकाव्यकार माधव वियोगीको संयोजकत्व हरिदेवी कोइराला र कृष्ण पौडेल सदस्य रहेको प्रतिभा छनोट समितिले गठन भएको थियो ।

नेपाली भाषाको मौलिक पहिचान र प्रष्ट मानकीकरणका लागि अभियानमार्फत् उत्कृष्ट कार्य गरेकाले उपाध्यायको नाम सिफारिश गरिएको संयोजक वियोगीले बताए ।

प्रत्येक वर्ष राष्ट्रिय स्तरमा व्यक्ति तथा संस्थालाई यो पुरस्कार प्रदान गर्ने गरिएको छ ।

यसअघि यो पुरस्कार सत्यमोहन जोशी, सरूभक्त श्रेष्ठ, लोककवि अली मियाँ (मरणोपरान्त), विमल स्मृति स्मृति पुस्तकालय, साहित्य सन्ध्या, सिर्जना सााहित्य सदन, राप्ती साहित्य परिषद, झरना साहित्य परिवार लगायतले पाएका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.