काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल र उम्मेद्वारहरूलाई कुनै पनि अवरोधबिना स्वतन्त्रतापूर्वक चुनावी प्रचारप्रसारमा लाग्न आह्वान गरेका छन्।
दशौँ निर्वाचन दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले निर्वाचनमा खटिने कर्मचारी, पर्यवेक्षक र मतदातालाई पूर्ण सुरक्षाको प्रत्याभूति दिँदै स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सहभागी हुन अपील गरे।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले पछिल्लो समय देखिएको राजनीतिक अस्थिरतालाई सही मार्गमा ल्याउने विश्वास उनले व्यक्त गरे। “स्वच्छ, पारदर्शी र मितव्ययी निर्वाचन नै सुशासनको मूलमन्त्र हो,” उनले भने, “यसले विद्रोहपछिको अनुशासनलाई पुनः स्थापित गर्नेछ।”
नेपालमा वि.सं. २०१५ फागुन ७ गते पहिलो पटक बालिग मताधिकारका आधारमा आमनिर्वाचन शुरू भएको थियो।
सोही ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्ष फागुन ७ गते निर्वाचन दिवस मनाउने गरिन्छ।
यस वर्षको दिवस विशेष रहेको उल्लेख गर्दै भण्डारीले गत भदौको ‘जेन-जी विद्रोह’ पछि राष्ट्रपतिबाट घोषणा गरिएको यो निर्वाचन लोकतन्त्रका लागि अविस्मरणीय हुने बताए।
निर्वाचनको महत्वबारे प्रष्ट पार्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आवधिक निर्वाचनलाई लोकतन्त्रको प्राणवायुको रूपमा व्याख्या गरे।
उनका अनुसार मताधिकारमार्फत प्रकट हुने जनताको अभिमतले शासन व्यवस्थालाई पुनर्ताजगी गर्छ र वैध सरकारको आधारशिला तयार पार्छ।
उनले उम्मेद्वारहरूलाई तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्न आग्रह गर्दै निर्वाचनले नै शासनमा जनताको स्वामित्व सुनिश्चित गर्ने धारणा राखे।
मतदानको दिन आउन अब १४ दिन मात्र बाँकी रहेकाले सबै सरोकारवालाहरूलाई उच्च लोकतान्त्रिक संस्कार प्रदर्शन गर्न उनले अनुरोध गरेका छन्।




