काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले सुदूरपश्चिमका मुद्दा र अधिकारलाई वर्षौँसम्म मागकै रूपमा अल्झाइराख्ने परिपाटी अन्त्य गर्ने घोषणा गरेका छन्।
बुधबार धनगढीमा आयोजित रास्वपाको परिवर्तन उद्घोष सभामा बोल्दै उनले सुदूरपश्चिममा देखिएको कुशासन, बेथिति, बेरोजगारी र अशिक्षाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे। “यी सबै समस्याको सटर एकैपटक बन्द गर्ने समय आएको छ,” उनले भने।
उनले जनताको मनमा रास्वपाप्रति विश्वास स्थापित भइसकेको दाबी गर्दै भने, “मतपत्रमा छाप लगाउने दिन फागुन २१ हो, तर मन-पत्रमा छाप लागिसकेको छ।” जनताको अधिकारलाई चुनावी नारामा मात्र सीमित राख्ने प्रवृत्ति अब रोकिनुपर्ने उनले बताए।
रास्वपाले हरेक चुनावमा घोषणापत्रमा ठूला अक्षरमा लेखेर मात्र सीमित रहने वाचा–संस्कृतिको अन्त्य गर्ने उनको भनाइ थियो। “जनताले भोट दिने, नेता वाचा गर्ने अनि पूरा नगरे पनि सजाय जनताले नै पाउने अवस्था अब अन्त्य हुनुपर्छ,” उनले स्पष्ट पारे।
अब वाचा गरेर पूरा नगर्ने नेताले नै जिम्मेवारी र सजाय भोग्नुपर्ने उनको धारणा थियो। यही कारणले रास्वपाले पाँच वर्षको स्थायी सरकारको अपेक्षा गरेको उनले बताए।
उनले भारतसहित विदेशमा रहेका नेपालीलाई पनि सकेसम्म बिदा मिलाएर मतदानमा सहभागी हुन आग्रह गरे।
अघिल्ला चुनावमा सधैँ नेताहरू जित्ने गरेको उल्लेख गर्दै उनले यस पटक जनतालाई जिताउने अभियान भएको बताए। साथै, उनले मतदातालाई मत नबाँड्न र एउटै निर्णयमा दृढ रहन अपिल गरे।





