काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) ले सुदूरपश्चिमलाई समृद्ध र आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
रास्वपाको परिवर्तन उद्घोष सभामा बोल्दै उनले सुदूरपश्चिम विकास भए देशै बलियो बन्ने बताए। आफ्नो पार्टीसँग देश बनाउने स्पष्ट योजना र इच्छाशक्ति रहेको उनको भनाइ थियो।
आर्थिक अभावका कारण कोही पनि शिक्षा र स्वास्थ्य सेवाबाट वञ्चित हुन नहुने उनले बताए। “गरिब र विपन्नले पनि सजिलै शिक्षा र उपचार पाउनुपर्छ,” उनले भने।
पूर्वाधार विकासमा ढिलाइ अब सह्य नहुने उल्लेख गर्दै उनले सडक निर्माणलाई प्राथमिकतामा राख्ने बताए। “दुई वर्षमा बन्ने काम २० वर्षसम्म लम्बिनु हुँदैन। अब छिटो काम सम्पन्न हुनुपर्छ,” उनले स्पष्ट पारे।
रास्वपा सरकारमा पुगे सबै दलका कार्यकर्ता र सर्वसाधारणले समान रूपमा प्रयोग गर्न सक्ने सडक बनाइने उनले दाबी गरे। विकास सबैका लागि हुने उनको भनाइ थियो।
नेपाललाई स्वीट्जरल्याण्ड बनाउने चर्चा हुँदै आएको प्रसंग उठाउँदै उनले सुदूरपश्चिममै ठूलो प्राकृतिक र पर्यटकीय सम्भावना रहेको बताए। बडिमालिका, रामारोशन र खप्तड राष्ट्रिय निकुञ्ज जस्ता स्थलहरूको उल्लेख गर्दै उनले यी स्थानलाई देशभर चिनाउनुपर्ने धारणा राखे।
सुदूरपश्चिम र काठमाडौँबीच सांस्कृतिक र भावनात्मक सम्बन्ध बलियो बनाउनुपर्नेमा पनि उनले जोड दिए। “जुन दिन सुदूरपश्चिमका गीतहरू काठमाडौंका चोक-चोकमा बज्छन्, त्यो दिन सुदूरपश्चिम साँचो अर्थमा जोडिन्छ,” उनले भने।
सभामा उनले रास्वपा भोट भन्दा पनि काम गर्न आएको बताए। “हामी भोट माग्न होइन, काम माग्न आएका हौँ। काम दिनुस्, गरेर देखाउँछौँ,” उनले भने।





