काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको रक्षा र प्रतिगमनका प्रयासविरुद्ध डटेर उभिने प्रमुख शक्ति आफ्नो पार्टी भएको बताएका छन्।
सर्लाहीमा आयोजित कार्यक्रममा उनले संविधान र लोकतन्त्रका उपलब्धि आजसम्म सुरक्षित रहनुमा आफ्नो पार्टीको ऐतिहासिक भूमिका रहेको उल्लेख गरे।
उनले केही शक्तिहरू परिवर्तनलाई कमजोर पार्ने, प्राप्त उपलब्धि उल्ट्याउने र प्रतिगमन लाद्ने प्रयासमा सक्रिय रहेको आरोप लगाउँदै त्यस्ता प्रवृत्तिविरुद्ध स्पष्ट र संगठित संघर्ष आवश्यक रहेको बताए। संविधान, लोकतन्त्र र परिवर्तनका उपलब्धिको संरक्षण गर्दै देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउने प्रतिबद्धता पार्टीको रहेको उनको भनाइ थियो।
श्रेष्ठले राजनीतिक परिवर्तनपछि सामाजिक-आर्थिक रूपान्तरण, सुशासनको प्रवर्द्धन र सामाजिक न्याय स्थापनाका लागि पार्टीले निरन्तर अभियान चलाउँदै आएको दाबी गरे। साथै, पछिल्लो समय युवापुस्ताले उठाएका मुद्दा-विशेषगरी ‘जेनजी’ का आवाज-प्रति पार्टी सकारात्मक रहेको र युवामाथि हुने दमनको विरोध गर्दै आएको उनले स्पष्ट पारे।
नेपाल कम्युनिस्ट पार्टीले भ्रष्टाचारविरुद्ध कडाइ, राजनीतिक दलहरूको सुधार तथा रूपान्तरण, स्थिरता र विकासलाई प्राथमिकतामा राख्दै देशलाई समृद्ध बनाउने लक्ष्य अघि सारेको उल्लेख गर्दै उनले सत्य-तथ्य जनतासम्म स्पष्ट रूपमा पुगेमा संविधान र लोकतन्त्रको पक्षमा जनसमर्थन अझ बलियो बन्ने विश्वास व्यक्त गरे।





