Nidan Media

विश्वकपबाट बाहिरिएको नेपालको अन्तिम खेलमा शानदार जीत

पोखरा। दीपेन्द्र सिंह ऐरी को आक्रामक अर्धशतकमा नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा स्कटल्याण्डलाई ७ विकेटले पराजित गरेको छ। यससँगै नेपालले १२ वर्षपछि टी-२० विश्वकपमा पहिलो जित दर्ता गरेको हो।

वानखेडे स्टेडियम मा भएको खेलमा स्कटल्याण्डले दिएको १७१ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। दीपेन्द्रले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक बनाए। कुशल भुर्तेलले ४३ र आसिफ शेखले ३३ रन योगदान दिए।

ओपनर कुशल र आसिफले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गर्दै नेपाललाई बलियो शुरूआत दिलाएका थिए।

९८-३ को अवस्थाबाट दीपेन्द्र र गुल्सन झाले जिम्मेवारी सम्हाल्दै जित सुनिश्चित गरे। स्कटल्याण्डका माइकल लिस्कले ३ विकेट लिए पनि टोलीलाई जिताउन सकेनन्।

यसअघि टस जितेर बलिङ रोजेको नेपालविरुद्ध स्कटल्याण्डले ७ विकेट गुमाएर १७० रन बनाएको थियो। माइकल जोन्सले सर्वाधिक ७१ रन बनाए। नेपालका सोमपाल कामीले ३ तथा नन्दन यादवले २ विकेट लिए।

डेथ ओभरमा नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम पाँच ओभरमा ६ विकेट लिएर मात्र ३९ रन खर्चिए। सोमपाल टी-२० विश्वकपमा नेपालका लागि सर्वाधिक विकेट (९) लिने खेलाडीसमेत बने।

सुपर एट पुग्ने लक्ष्य राखेको नेपाल समूह चरणबाटै बाहिरिए पनि अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद् अन्त्य गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.