पोखरा । कास्की क्षेत्र नं ३ का कांग्रेस उम्मेद्वार मनोज गुरुङले जनताका समस्या समाधानका लागि अहोरात्र खटिने बताएका छन्।
सोमबार साँझदेखि पोखरा क्षेत्रका मतदाता भेटघाटमा सक्रिय गुरुङले मंगलबार पोखरा-२ का मतदाता समक्ष यस्तो प्रतिवद्धता जनाएका हुन् ।
उनले यसअघि अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाका केही स्थानबाहेक अन्य क्षेत्रका मतदातासँग भेटघाट गरिसेका छन्।
उनले मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा कास्कीका दुई पालिकामा घरदैलो गर्ने क्रममा मतादाताको सकारात्मक प्रतिक्रियाले आफू निकै उत्साहित भएको बताए ।
उनले भने, ‘दुई पालिकाका मतादाता भेटेर भर्खर पोखरा आएको छु । मतदाताको सकारात्मक प्रतिक्रियाले हौसला थपिएको छ, उत्साहित भएको छु ।’
आफ्नो क्षेत्रका करिब ३५ प्रतिशत मात्रै मतदाता भेटघाट गरिसक्दा छनक आइसकेको गुरुङले दाबी गरे।
उनले थपे, ‘कांग्रेसमा उभार आएको महसूस गरेको छु । यसलाई ब्यालेटमा परिणत गरेर देश बदल्न लाग्नुपर्छ ।’
विगतमा विभिन्न कारणले रिसाएका कांग्रेसीहरू यस पटक खुशी भएको उनको दाबी छ ।
निर्वाचन प्रचारका लागि मनोज गुरुङ र समानुपातिकतर्फका उम्मेद्वार आइबहादुर गुरुङ अबका केही दिन पोखरा क्षेत्रमा केन्द्रित हुने भएका छन्।
क्षेत्र नं ३ अन्तर्गत पोखराका ११ ओटै वडाका मतदाता भेटघाट गरेर पुनः अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा पुग्ने कार्यक्रम छ ।
त्यसपछि केही स्थानमा चुनावी सभा र कोणसभा आयोजना गर्ने तयारी भइरहेको निर्वाचन परिचालन समिति संयोजक युवराज कुँवरले जानकारी दिए।




