पोखरा । शब्दालय पोखराको शुभारम्भसँगै संयुक्त कृति ‘दामली अक्षर’ एक समारोहका बीच लोकार्पण गरिएको छ।
प्रणय दिवसको अवसर पारेर आयोजित कार्यक्रममा कृतिका स्रष्टा लक्ष्मण थापा, डा ईश्वरमणि अधिकारी, दीपक समीप र जीवन सागर भण्डारीका धर्मपत्नीहरू क्रमशः मैया थापा, रीता अधिकारी ऋतु, शर्मिला श्रेष्ठ र मञ्जु भण्डारीले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन्।
कार्यक्रममा बिम्बकवि रमेश श्रेष्ठले अक्षरको शक्ति र सौन्दर्यबारे चर्चा गर्दै ‘दामली अक्षर’को सफलताको शुभकामना व्यक्त गरे।
साहित्यकार तीर्थ श्रेष्ठले नेपाली मुक्तक लेखन तथा वाचनमा पोखराको महत्वपूर्ण स्थान रहेको उल्लेख गर्दै यस कृतिले मुक्तक साहित्य र समग्र काव्य क्षेत्रलाई थप समृद्ध बनाउने विश्वास व्यक्त गरे।
साहित्यकार सरुभक्तले नेपाली तथा विश्वसाहित्यमा संयुक्त कृति प्रकाशनको परम्परा र इतिहासबारे प्रकाश पार्दै ‘दामली अक्षर’ र शब्दालय पोखराको सफलताको कामना गरे।
उनले नेपाली साहित्यमा सक्रिय भूमिका निर्वाह गरिरहेका पोखराका चार स्रष्टा एउटै कृतिमा समेटिनु मुक्तकमा पोखरेली पहिचानको सशक्त प्रतिनिधित्व भएको बताए।
स्रष्टाहरूका तर्फबाट बोल्दै डा। ईश्वरमणि अधिकारीले शब्द सानो देखिए पनि त्यसमा प्रकाश, सौन्दर्य र शक्ति निहित हुने बताए। मानवका माया, प्रेम, इच्छा, आकांक्षा, आशंका र अनुभूति अभिव्यक्त गर्न अक्षर र शब्दको जन्म भएको उल्लेख गर्दै ‘दामली अक्षर’ ती संवेदनाहरूको समष्टिगत अभिव्यक्ति भएको धारणा राखे।
लक्ष्मण थापाले आफूलाई यात्रारत र अपूर्ण मान्छेका रूपमा चित्रित गर्दै पूर्णता मोक्षसरह हुने र त्यसको खोजीमा अक्षर साधना गरिरहने बताए।
दीपक समीपले स्पष्टता, सघनता, सूक्ष्मता, भावको तीक्ष्णता र अनुभूतिको तीव्रता मुक्तकका सौन्दर्य पक्ष भएको उल्लेख गर्दै कृतिमा ती पक्षलाई सजग रूपमा प्रस्तुत गरिएको बताए।
जीवन सागर भण्डारीले लेखन तथा प्रकाशन यात्राका अनुभव साझा गर्दै ‘दामली अक्षर’ अब सबै शुभेच्छुकहरूको साझा सम्पत्ति भएको बताए। शब्दालय अब केवल केही व्यक्तिको नभई सबै अक्षरप्रेमीहरूको साझा घर भएको उल्लेख गर्दै यसलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाए।
कवि तथा साहित्यकार रीता अधिकारी ऋतुुले दामलीहरूको सहयात्राले आगामी दिनमा थप सार्थकता पाउने विश्वास व्यक्त गरिन्।
कृति विमोचनमार्फत नारी शक्तिलाई सिर्जनात्मक निरन्तरताको प्रतीकका रूपमा प्रस्तुत गरिएको भन्दै उनले खुसी व्यक्त गरिन्।
कवि अमृत क्षेत्रीले ‘दामली अक्षर’ र शब्दालय भविष्यमा साहित्यिक बहस र चिन्तनको केन्द्रका रूपमा विकसित हुने अपेक्षा व्यक्त गरे।





