मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज सामु १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मुमुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सुरुआतमा दबाब झेले पनि उपकप्तान दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीको महत्वपूर्ण साझेदारीमा ८ विकेट गुमाउँदै १३३ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको हो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५८ रनको योगदान दिए। ४७ बलको सामना गरेका उनले ३ चौका र ३ छक्का प्रहार गरे। उनले १९औँ ओभरको चौथो बलमा शामर जोसेफलाई छक्का हान्दै ४४ बलमै अर्धशतक पूरा गरेका थिए। अर्धशतक पूरा गर्ने क्रममा उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए।
दीपेन्द्र टी–२० विश्वकपमा नेपालका लागि अर्धशतक बनाउने दोस्रो खेलाडी बने। यसअघि सन् २०१४ मा नेपालले विश्वकप डेब्यु गर्दा सुबास खकुरेलले हङकङविरुद्ध अर्धशतक प्रहार गरेका थिए।
यस संस्करणमा पहिलो खेल खेलेका सोमपाल कामी १५ बलमा ४ चौका प्रहार गर्दै अविजित २६ रनमा रहे। दीपेन्द्र र सोमपालबीच सातौँ विकेटका लागि ५४ रनको साझेदारी भयो, जुन नेपालको इनिङ्सकै सबैभन्दा ठूलो साझेदारी रह्यो।
त्यसअघि छैटौँ विकेटका लागि दीपेन्द्रले गुल्सन झासँग २७ रन जोडेका थिए। यी दुई महत्वपूर्ण साझेदारीले नेपालको स्कोरलाई सम्मानजनक स्थितिमा पु¥याएको हो।
अन्य ब्याटरमध्ये लोकेश बमले १५ बलमा १३ रन बनाए भने ओपनर आसिफ शेख र गुल्सन झाले समान ११–११ रन जोडे। बाँकी खेलाडीले भने दोहोरो अंक छुन सकेनन्।





