Nidan Media

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

सिन्धुली । सिन्धुलीमा इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा तीनपाटन गाउँपालिका वडा नं २ कदमे स्थायी घर भई हाल कमलामाई नगरपालिका वडा नं ४ ढुंग्रेबासमा बस्दै आएका ४२ वर्षीय रामलाल श्रेष्ठ छन् ।

सिन्धुलीको गोलञ्जोर गाउँपालिका वडा नं ५ आलडाँडा क्षेत्रमा बिजुलीको पोलमा चढेर इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लाग्दा श्रेष्ठ गम्भीर घाइते भएका थिए।

उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार स्थानीय स्तरमा इन्टरनेट जडानसम्बन्धी काम गर्दै आएका श्रेष्ठले पोलमा चढेर तार व्यवस्थापन गर्ने क्रममा अचानक विद्युत् तारले छोएपछि अचेत भएर पोलबाट तल खसेका थिए ।

दुर्घटनाको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी निरीक्षक उज्ज्वल कार्कीको कमाण्डमा पाँच जनाको टोली घटनास्थलतर्फ खटिएको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा सुरक्षा उपकरण प्रयोग नगरी काम गर्दा करेन्ट लागेको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.