काठमाडौँ। आईसीसी टी-२० विश्वकप २०२६अन्तर्गत समूह चरणको तेस्रो खेलमा आज नेपालले शक्तिशाली वेस्ट इन्डिज क्रिकेट टोलीसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल र वेस्ट इन्डिजबीचको खेल वानखेडे स्टेडियममा बिहान ११:१५ बजेदेखि शुरू हुनेछ।
समूह चरणका पहिलो दुई खेलमा हार बेहोरेको नेपालका लागि आजको खेल ‘गर या मर’को अवस्थामा छ।
प्रतियोगितामा टिकिरहन नेपाललाई जित्नैपर्ने दबाब रहेको छ।
यता, वेस्ट इन्डिज भने लगातार दुई जितसहित सुपर ८ नजिक पुगेको छ। आजको खेल जितेमा वेस्ट इन्डिज अर्को चरणमा प्रवेश गर्नेछ भने नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिनेछ।
दुई पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा टी-२० विश्वकप उपाधि जितेको थियो।
हाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी-२० वरियतामा सातौँ स्थानमा रहेको टोली कप्तान शाइ होपको नेतृत्वमा मैदान उत्रनेछ।
पावर हिटिङका लागि परिचित वेस्ट इन्डिज बलियो लयमा देखिएको छ।
नेपालका लागि ओपनर कुशल भुर्तेलमाथि फेरि एक पटक ठूलो भरोसा रहनेछ।
त्यस्तै, अलराउन्डर दीपेन्द्रसिंह ऐरीबाट प्रभावशाली प्रदर्शनको अपेक्षा गरिएको छ।
बलिङतर्फ सन्दीप लामिछाने निर्णायक बन्न सक्ने विश्वास गरिएको छ।
आजको खेलले नेपालको आगामी यात्रा तय गर्ने भएकाले समर्थकहरूको नजर पनि यही प्रतिस्पर्धामा केन्द्रित छ।





