काठमाडौँ । नेपाली सेनाले आज आफ्नो २६३औँ स्थापना दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाउँदै छ। महाशिवरात्रिको अवसरमा प्रत्येक वर्ष मनाइने सेना दिवसका उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा शिवरात्रि बढाइँ, आकर्षक परेड, तोप बढाइँ तथा विविध सैनिक कला प्रदर्शन गरिनेछ। जङ्गी अड्डासहित देशभरका पृतना, बाहिनी र कूटनीतिक नियोगहरूमा पनि हर्षोल्लासका साथ दिवस मनाइँदै छ।
वि.सं. १८७६ (सन् १८१९) देखि औपचारिक स्वरूपमा अघि बढेको नेपाली सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षामा इतिहासका विभिन्न कालखण्डमा महत्वपूर्ण योगदान दिँदै आएको छ। देशभक्ति, अनुशासन र समर्पणका कारण सेनाले नागरिकहरूको विश्वास जित्न सफल भएको छ।
वीर पुर्खाहरूको बलिदानबाट प्राप्त राष्ट्रिय एकता जोगाउनु सेनाको संवैधानिक दायित्व मात्र होइन, यसको मूल संस्कार पनि हो। पछिल्लो समय समावेशिता र महिलाहरूको उल्लेखनीय सहभागिताले सेनालाई अझ आधुनिक र समावेशी बनाएको छ।
अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपाली सेनाले विश्वसनीय फौजको छवि बनाएको छ। सन् १९५८ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनामा खटिँदै आएको सेनाले हालसम्म ४४ वटा मिसनमा एक लाख ६२ हजारभन्दा बढी सैनिक परिचालन गरिसकेको छ। यस क्रममा ७४ सैनिकले ज्यान गुमाएका छन्। हाल विश्वका १० वटा मिसनमा ४ हजार ३ सयभन्दा बढी नेपाली शान्ति सैनिक परिचालित छन्।
सैनिक शिक्षालय र स्टाफ कलेजहरू पेसागत दक्षता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय स्तरमै परिचित बन्दै गएका छन्।
राष्ट्रिय सुरक्षासँगै नेपाली सेनाले विपद् व्यवस्थापन, ऐतिहासिक गढी–सम्पदा संरक्षण तथा सडक पूर्वाधार निर्माणमा पनि सक्रिय भूमिका खेल्दै आएको छ।
राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई मधेश द्रुतमार्गको व्यवस्थापन गरिरहेको सेनाले हिमाल सफाइदेखि विकास निर्माणसम्मका काममार्फत नागरिकसँगको सम्बन्ध अझ सुदृढ बनाएको छ। साथै, आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सेनाले एकीकृत सुरक्षा योजनाको नेतृत्व सम्हालिरहेको छ।





