पोखरा । बागलुङ नगरपालिका वडा नं३ झिसेमा बिहीबार साँझ भएको न्यू एभरेष्ट एकेडेमीको स्कूल भ्यान दुर्घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।
दुर्घटनामा गम्भीर घाइते भएका १३ वर्षीय सुजल छन्त्यालको समेत पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शनिबार मृत्यु भएसँगै मृतकको संख्या दुई पुगेकाे जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
सोही दुर्घटनामा घाइते भएका १५ वर्षीय अमन बोहोराको उपचारका क्रममा बिहीबार नै मृत्यु भएको थियो।
दुर्घटनामा घाइते भएका १४ वर्षीय संगम किसानको गण्डकी अस्पतालमै उपचार भइरहेको छ। शरीरका विभिन्न भागमा चोट लागेका उनको अवस्था गम्भीर रहेको बताइएको छ।
घाइतेमध्ये पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा आठ जना विद्यार्थी उपचाररत छन्। जसमा ८ वर्षीय सोलुमन किसान र ५ वर्षीय आयन बोहोराको अवस्था गम्भीर रहेको छ।
यसैगरी अस्पतालमा उपचाररत १२ वर्षीय आयुष बोहरा र ९ वर्षीय सुमित गैरेको अवस्था सामान्य रहेको छ भने १० वर्षीय अनमिया किसान र ९ वर्षीय उमंग किसानको अवस्था मध्यम छ।
१३ वर्षीया समीक्षा गैरेको टाउकोमा चोट लागे पनि अवस्था सामान्य रहेको जनाइएको छ। उनीहरूलाई प्रारम्भिक उपचारपछि धौलागिरि अस्पतालबाट थप उपचारका लागि पोखरा रिफर गरिएको थियो।
धौलागिरि अस्पतालमै विद्यालयकी कर्मचारी २५ वर्षीया सारीका बोहोरा र १२ वर्षीया अलिस्ना किसानको उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको छ।
भ्यान दुर्घटना हुँदा चालक र शिक्षिकासहित २५ जना घाइते भएका थिए। घटनाको छानबिनका लागि जिल्ला स्तरीय समिति गठन गरिएको छ।
धौलागिरि अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका चालक वीर मगरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।



