Nidan Media

पोखराको फोहोर शनिबारदेखि उठाइने

पोखरा । पोखरा महानगरपालिकाको आयोजनामा फोहोर व्यवस्थापनका विषयमा सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न भएको छ।

बैठकमा नगर प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिकाले फोहोरको दीर्घकालीन र अल्पकालीन व्यवस्थापनका लागि निरन्तर प्रयास गरिरहेको बताएका छन्।

पछिल्लो समय विभिन्न अवरोधका कारण उठ्न नसकेको फोहोर तत्कालका लागि अल्पकालीन व्यवस्थापनमार्फत समाधान गर्न लागिएको आचार्यले बताएका छन्।

लामेआहाल ल्याण्डफिल साइट भरिएपछि फोहोर व्यवस्थापनका लागि दर्जनौँ सम्भावित स्थानको खोजी गरिए पनि विभिन्न कारणले टुंगोमा पुग्न नसकेको उनले बताए।

महानगरपालिकाले उपयुक्त स्थानको खोजी जारी राखेको उल्लेख गर्दै आचार्यले शनिबारसम्ममा बजार क्षेत्रको सम्पूर्ण फोहोर उठाइने दाबी गरेका छन्।

साथै फोहोर व्यवस्थापनमा देखिएका स्थानीय अवरोध समाधानका लागि राजनीतिक दल, नागरिक समाज, स्थानीय प्रशासन तथा सरोकारवालासँग सहकार्यको आग्रह गरेका छन्।

बैठकमा गण्डकी प्रदेश सरकारका मुख्यसचिव डण्डुराज घिमिरेले पर्यटन राजधानी पोखरामा देखिएको फोहोर समस्या समाधानका लागि राज्य र नागरिक दुवैले आ-आफ्नो दायित्व बोध गर्नुपर्ने बताएका छन्।

प्रमुख दायित्व महानगरपालिकाको भए पनि प्रदेश सरकार आवश्यक सहयोगका लागि तयार रहेको उनले बताएका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले गैरकानुनी कार्य गर्ने र त्यस्तो कार्यलाई प्रश्रय दिने कार्य दण्डनीय हुने स्पष्ट पारेका छन्।

अधिकार खोज्ने क्रममा नागरिकले कर्तव्यको पालना गर्नुपर्नेमा उनले जोड दिए। जथाभाबी फोहोर फ्याँक्ने कार्य दण्डनीय हुने भएकाले कानून पालनामा इमान्दार बन्न उनले आग्रह गरे।

बैठकमा नेपाली कांग्रेसका सचिव नवीन सिग्देल, नेकपा एमालेका उपाध्यक्ष भेषराज बराल, नेपाल कम्युनिस्ट पार्टी कास्कीका संयोजक विश्वप्रकाश लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (विप्लव), श्रम संस्कृति पार्टीलगायतका प्रतिनिधिहरूले महानगरपालिकालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

नागरिक समाजका अगुवा तथा वातावरण संरक्षण महाअभियानका संयोजक रामबहादुर पौडेलले फोहोर व्यवस्थापन, सरसफाइ र वातावरण संरक्षणसम्बन्धी महानगरपालिकाका अभियानमा नागरिक समाजको साथ रहने बताएका छन्।

नगर प्रमुख आचार्यको अध्यक्षतामा सम्पन्न बैठकमा उपप्रमुख मञ्जुदेवी गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् भने प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले कार्यक्रम सञ्चालन गरेका थिए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.