सुर्खेत । सल्यानमा बोलेरो जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको छ भने तीन यात्रु घाइते भएका छन् ।
मृत्यु हुनेमा चालक विजय विश्वकर्मा छन् । दुर्घटनामा जीपमा सवार रुकुम पूर्व सिस्ने-२ की २२ वर्षीया सुस्मी रोका, उनकी दुई वर्षीया छोरी सफलता केसी र सिस्ने-४ की ३८ वर्षीया ललीता केसी घाइते भएका छन्।
घाइतेको कपुरकोटस्थित आधारभूत स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल दाङको तुलसीपुर पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डा. हेमबहादुर केसीका अनुसार रुकुम पूर्वको सिस्ने गाउँपालिकाबाट दाङतर्फ जाँदै गरेको ग१ज ५६६१ नम्बरको बोलेरो जीप सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोलामा दुर्घटना भएको हो। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।




