Nidan Media

गण्डकीसहित चार प्रदेशमा हल्का वर्षा र हिमपात हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले तराईका धेरै स्थान र विभिन्न उपत्यकाहरूमा बाक्लो हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशका हिमाली तथा उच्च पहाडी भागमा आंशिक बदली भएको छ भने तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु लाग्ने सम्भावना छ।

पहाडी भेगमा साधारणतया बदली रहे पनि तराईको मौसम भने मुख्यतया सफा रहने अनुमान गरिएको छ।

यद्यपि, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना देखिएको छ।

आज राति पनि तराईका केही स्थानमा तुँवालो लाग्ने र कोशी तथा गण्डकी प्रदेशका उच्च पहाडी भागमा मौसम बदली रहने महाशाखाको भनाइ छ।

तत्काल वर्षाको ठुलो सम्भावना नरहेकाले तराई र उपत्यकाहरूमा वायु प्रदूषणको स्तर कायमै रहने देखिएको छ।

बाक्लो हुस्सु र प्रदूषणका कारण जनजीवन प्रभावित हुन सक्ने भन्दै महाशाखाले प्रतिकूल मौसममा सुरक्षित रहन सर्वसाधारण र सरोकारवाला सबैलाई अनुरोध गरेको छ। हिमाली भेगमा हुने हल्का हिमपातले चिसो अझै बढ्न सक्ने भएकाले सावधानी अपनाउन पनि उसले सुझाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.