काठमाडौँ । जापानमा लगातार तीन हप्तादेखि भइरहेको भारी हिमपातका कारण ४६ जनाको मृत्यु भएको छ।
फायर एण्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीको ताजा तथ्याङ्कअनुसार यस अवधिमा ५ सय ५८ जना घाइते भएका छन्।
जनवरीको अन्त्यदेखि जारी हिमपातले जापानका उत्तरी क्षेत्रका समुदायहरूलाई गम्भीर रूपमा प्रभावित गरेको छ भने यातायात अवरुद्ध हुनुका साथै दैनिक जनजीवन कष्टकर बनेको जनाइएको छ।
प्रहरी र स्थानीय अधिकारीहरूका अनुसार घर तथा सार्वजनिक स्थान वरपर जमेको हिउँ हटाउने क्रममा लडेर वा अन्य दुर्घटनामा परेर धेरैजसो घातक घटना भएका छन्।
जापान मौसम विज्ञान एजेन्सीका अनुसार उत्तरी क्षेत्रीय केन्द्र आओमोरीलगायतका स्थानमा चार फिटभन्दा बढी हिमपात भएको छ।
एजेन्सीले आगामी दिनहरूमा पनि थप हिमपात हुन सक्ने चेतावनी दिँदै सतर्कता अपनाउन आग्रह गरेको छ।





