टोकियो । आइतबार सम्पन्न जापानको तल्लो सदनको निर्वाचनमा प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले ऐतिहासिक विजय हासिल गरेको छ। यसअघि १९८ सिट रहेको एलडिपीले यस निर्वाचनमा एक्लै ३१६ सिट जितेको हो।
४६५ सदस्यीय तल्लो सदनमा दुई तिहाइ बहुमतका लागि ३१० सिट आवश्यक पर्नेमा एलडिपीले आफ्नै बलमा त्यो सीमा पार गरेको छ। एलडीपीसँग गठबन्धन गरेको जापान इनोभेसन पार्टीले ३६ सिट जितेको छ। यससँगै सत्तारुढ गठबन्धनको कुल सिट संख्या ३५२ पुगेको छ।
यो परिणाम १९५५ मा एलडीपी स्थापना भएयताकै सबैभन्दा ठूलो जित हो। यसअघि १९८६ मा स्वर्गीय प्रधानमन्त्री यासुहिरो नाकासोनेको नेतृत्वमा एलडीपीले जितेको ३०० सिटको रेकर्डलाई ताकाइचीले तोडेकी छन्।
निर्वाचनमा विपक्षी गठबन्धनको सिट संख्या भने उल्लेख्य रूपमा घटेको छ। मुख्य विपक्षी सेन्टर रिफर्म कोलिसनले ४९ सिट मात्र जितेको छ, जबकि अघिल्लो निर्वाचनमा उसले १७२ सिट हासिल गरेको थियो। एलडीपी गठबन्धनबाहेक अन्य दलहरूले कुल ११३ सिट जितेका छन्।
प्रधानमन्त्री ताकाइचीले जनवरी २३ मा तल्लो सदन विघटन गर्दै १६ दिनभित्र निर्वाचन गर्ने घोषणा गरेकी थिइन्। उनको चुनावी एजेन्डामा संविधान संशोधन, सैन्य शक्ति सुदृढीकरण तथा खाद्यान्नमा लाग्दै आएको ८ प्रतिशत कर हटाउने विषय प्रमुख रहेका छन्।




