काठमाडौँ। आज सुरक्षित इन्टरनेट दिवस ‘एआई संचालित इन्टरनेटमा स्मार्ट प्रविधि, सुरक्षित विकल्पहरू’ भन्ने नाराका साथ विश्वव्यापी रूपमा मनाइँदैछ ।
बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित र सकारात्मक प्रयोग प्रवर्द्धन गर्न तथा यससम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संवादलाई उत्प्रेरित गर्ने उद्देश्यले प्रत्येक वर्ष सुरक्षित इन्टरनेट दिवस मनाइन्छ ।
युरोपेली आयोग तथा युरोपभरका राष्ट्रिय सुरक्षित इन्टरनेट केन्द्रहरूको सहयोगमा इन्सेफ र इनहोप नामक संस्थाहरूको संयुक्त संयोजनमा सुरक्षित इन्टरनेट दिवस विश्वका १७० भन्दा बढी देशमा मनाइँदै आएको छ ।
यस दिवसले विशेषगरी बालबालिका र युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित प्रयोगबारे चेतना अभिवृद्धि गर्न तथा सरोकारवालाबीच संवादको थलो प्रदान गर्दै आएको छ ।
नेपालमा भने चाइल्ड सेफ नेटले सन् २०१९ देखि सुरक्षित इन्टरनेट दिवसको समन्वय तथा प्रवर्द्धन गर्दै आएको छ । सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै डिजिटल माध्यमबाट उत्पन्न हुने जोखिमहरू पनि बढ्दै गएका छन् ।
डिजिटल प्रविधिको अत्यधिक प्रयोग गर्ने समूहमा बालबालिका र युवाहरू अग्रपंक्तिमा रहेका छन् । इन्टरनेटको असुरक्षित प्रयोगले उनीहरूलाई अनलाइन यौन दुव्र्यवहार तथा शोषण, साइबर बुलिङ, फिसिङ र सेक्स्टोर्सनजस्ता गम्भीर जोखिमतर्फ धकेल्ने खतरा रहेको छ ।
यस्ता जोखिमले बालबालिकाको मानसिक र बौद्धिक विकासमा नकारात्मक असर पार्नुका साथै उनीहरूको आत्मसम्मानमा ह्रास ल्याउने सम्भावना रहेको विज्ञहरू बताउँछन् ।
इन्टरनेटलाई सुरक्षित बनाउने जिम्मेवारी बालबालिका, युवा, अभिभावक, शिक्षक तथा सरकार सबैको साझा दायित्व भएको उल्लेख गर्दै सरोकारवालाहरूले साइबर सुरक्षालाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता औँल्याएका छन् ।





