Nidan Media

विचारविहीन लोकप्रियतावादले लोकतन्त्र र समाजवादमाथि प्रहार गरिरहेको छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विचार र सिद्धान्तविहीन लोकप्रियतावादले लोकतन्त्र र समाजवादमाथि प्रहार गरिरहेको बताएका छन् ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा संयोजक प्रचण्डले सामाजिक सञ्जालमा गरिने ‘स्टन्ट’ र लोकप्रियतावादको आलोचना गर्दै लोकतान्त्रिक मूल्यविरुद्ध सुनियोजित प्रयास भइरहेको दाबी गरेका छन् ।

उनका अनुसार विचार, राजनीति र इतिहासविहीन व्यक्तिहरूले सामाजिक सञ्जालमा फण्डा गरेकै भरमा लोकतन्त्र र समाजवादमाथि प्रहार गर्ने प्रयास भइरहेको छ ।

यो अन्तर्राष्ट्रिय भूराजनीतिक चलखेल र साम्राज्यवादले फैलाएको लोकप्रियतावादको नेपाली संस्करण मात्र भएको उनको टिप्पणी छ ।

उनले २६ दलको एकताबाट निर्माण भएको नेपाली कम्युनिस्ट पार्टी राष्ट्रिय सङ्कट सामना गर्न सक्षम र तयार रहेको बताएका छन् ।

नयाँ निर्वाचन चिह्न ‘तारा’ सहित पार्टी जनताको भरोसाको केन्द्र बन्दै गएको उनको दाबी छ ।

गणतन्त्र, सङ्घीयता र उत्पीडित वर्गको अधिकारका लागि लड्ने सबैभन्दा ‘नयाँ’ विचार बोकेको शक्ति आफ्नो पार्टी नै भएको उनले बताएका छन् ।

संयोजक दाहालले ‘जेन-जी’ आन्दोलन र त्यसबाट सिर्जित विशेष परिस्थितिलाई सम्बोधन गर्न देशमा एक बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको उल्लेख गरेका छन् ।

सोही आवश्यकताअनुसार वामपन्थी, समाजवादी र देशभक्त शक्तिहरूलाई एकतावद्ध गर्दै २६ ओटा साना-ठूला दलको एकताबाट नेपाली कम्युनिस्ट पार्टी निर्माण गरिएको उनले बताएका छन् ।

उनले वर्तमान जटिल राजनीतिक अवस्थामा निर्वाचन नै जनतामा जाने उत्तम माध्यम भएको बताएका छन् ।

नयाँ जनअनुमोदित प्रतिनिधि सभाले युवापुस्ताका माग र अपेक्षालाई सम्बोधन गर्न सक्ने उनको भनाइ छ ।

सर्वदलीय वा सर्वपक्षीय सरकार तथा संसद पुनर्स्थापनाजस्ता बहस उठे पनि चुनावमै जानुपर्ने अडानमा पार्टी शुरूदेखि नै दृढ रहेको उनले स्पष्ट पारेका छन् ।

देश निर्वाचनमय भइसकेको उल्लेख गर्दै प्रचण्डले नेपाली कम्युनिस्ट पार्टीको संगठनात्मक स्थिति दिनप्रतिदिन सुदृढ हुँदै गएको बताएका छन् ।

उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायको पहिचान तथा अधिकारको वाहकका रूपमा पार्टी पुनः जनताको आशा र भरोसाको केन्द्र बन्दै गएको उनको दाबी छ ।

संयोजक दाहालले पार्टीका नीति, योजना र कार्यक्रमप्रति जनतामा आशा बढ्दै गएको बताएका छन् ।

सुशासन, भ्रष्टाचारविरुद्धको अभियान, सामाजिक न्याय, सामाजिक विभेदको अन्त्य, आर्थिक विकास, उत्पादन र रोजगारी सृष्टिमा केन्द्रित कार्यक्रमले जनविश्वास पुनः आर्जन गर्न थालेको उनको भनाइ छ ।

उनले पार्टीको नयाँ निर्वाचन चिह्न ‘तारा’बारे मतदातालाई स्पष्ट रूपमा बुझाउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सामाजिक सञ्जाललाई प्रचारको माध्यम बनाए पनि जनतासँग प्रत्यक्ष भेटघाट र टोल-टोलको अभियान नै बढी प्रभावकारी हुने प्रचण्डको तर्क छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.