काठमाडौँ । दाङमा आज बिहान मोटरसाइकल पुलबाट खस्दा दुई जनाको ज्यान गएको छ। मृतक दुवैको पहिचान खुल्न सकेको छैन ।
दाङको घोराही उपमहानगरपालिका-१६ सेवाखोलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु.प्र ०२-००१ प ११०२ मोटरसाइकल अनियन्त्रित भएर सेवाखोलाको निर्माणधीन पुलबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डीएसपी रेशम बोहराले दिएको जानकारी अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो।
मृतकमध्ये एक जना तुलसीपुर र रोल्पाका हुन्। उनीहरूको पहिचानको प्रयत्न र दुर्घटनाबारे अनुसन्धान भइरहेको डीएसपी बोहराले जानकारी दिए।
यता, नवलपरासी (बर्दघाट सुस्तापूर्व) को अग्यौलीमा गएराति तीनओटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार कावासोती नगरपालिका-१४ अग्यौलीस्थित भित्री सडकखण्डमा दुर्घटना भएको हो।
दुर्घटनामा ग प्र ०४-००१ प ८५९२, प्रदेश ०३-०३ प २५२१ र ग प्र ०४-००२ प १८४७ नम्बरका मोटरसाइकलहरू एकआपसमा ठोक्किएका थिए।
उक्त दुर्घटनामा परी ८५९२ नम्बरको मोटरसाइकलका चालक देवचुली नगरपालिका-१७ का २८ वर्षीय ओमप्रकाश खोजवारको ज्यान गएको प्रहरी उपरीक्षक खड्काले बताए।
दुर्घटनालगत्तै गम्भीर घाइते भएका खोजवारलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पुर्याइएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो।
प्रहरीले उनको शवलाई पोस्टमार्टमका लागि अस्पतालमै राखेको छ र घटनाबारे थप विवरण सङ्कलन गरिरहेको छ।
दुर्घटनामा अर्को मोटरसाइकलको पछाडि सवार कावासोती नगरपालिका-१७ गोछाडाकी ४४ वर्षीया प्रमेश्वरी महतो र उनका चार वर्षीय छोरा जेसन महतो घाइते भएका छन्।
उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ र अवस्था सामान्य रहेको बताइएको छ।
प्रहरीले दुर्घटनामा संलग्न तीनओटै मोटरसाइकललाई आफ्नो नियन्त्रणमा लिएको छ।
साँघुरो सडक र तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।





