काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटमा नेपालले पहिलो खेलमा इङ्गल्याण्डसँग खेलिरहेको छ ।
भारतको मुम्बईस्थित वाङ्खेडे मैदानमा भइरहेको खेल जितका लागि नेपालले १८५ रनको चुनौती पाएको छ । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इङ्गल्याण्डले ७ विकेटको क्षतिमा १८४ रन बनायो ।
इङ्गल्याण्डका लागि ज्याकब बेथेल र कप्तान ह्यारि ब्रुकले अर्धशतक बनाए । विल ज्याक्सले १८ बलमा अजिजित रहँदै ३९ रन जोडे । नेपालका लागि नन्दन यादव र दीपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए ।
शेर मल्ल र सन्दीप लामिछानेले समान १ विकेट लिए । महँगा सावित भएका कुशल भुर्तेलले ४० तथा करण केसीले ३५ रन दिए पनि विकेट लिएनन् ।
५ रन जोड्दा पहिलो विकेट गुमाएको इङ्गल्याण्डले ४३ रन जोड्दा दोस्रो विकेट गुमायो । त्यस्तै ५७ रन जोड्दा तेस्रो विकेट गुमायो ।
फिल साल्टलाई डेब्यु खेलाडी शेर मल्लले पहिलो बलमै आउट गरे । साल्टले २ बलमा एक रनमात्र बनाए ।
त्यस्तै जोस बटलरलाई नन्दन यादवले आउट गरे । बटलरले १७ बलमा २६ रन बनाए ।
त्यस्तै सन्दीप लामिछानेले पहिलो बलमै टम बान्टनलाई एलबीडब्ल्यू आउट गरे । बान्टनले ५ बलमा २ रनमात्र बनाउन सके ।
तर चौथो विकेटका लागि ७१ रनको साझेदारी भएसँगै इङ्गल्याण्ड उच्च योगफलतर्फ अगाडि बढ्यो । सो क्रममा ज्याकब बेथेलले ३५ बलमा ५५ रन जोडे । उनलाई दीपेन्द्र सिंह ऐरीले आउट गरे ।
त्यस्तै १३७ रन जोड्दा इङ्गल्याण्डले पाँचौँ विकेट गुमायो । साम कुरान ८ बलमा २ रन बनाएर आउट भए । दीपेन्द्र सिंह ऐरीले आफ्नो दोस्रो विकेट लिए ।
त्यस्तै १५७ रन जोड्दा इङ्गल्याण्डले छैटौँ विकेट गुमायो । कप्तान ह्यारि ब्रुक ३२ बलमा ५३ रन बनाएर आउट भए । उनलाई नन्दन यादवले आउट गरे । नन्दनको यो दोस्रो विकेट हो ।
१७८ रन जोड्दा इङ्गल्याण्डले सातौँ विकेट गुमायो । जोफ्रा आर्चर १ रन बनाएर रन आउट भए ।
अन्तिम ओभरमा इङ्गल्याण्डले २१ रन बनायो । करण केसी महँगा सावित भए ।
इङ्गल्याण्ड दुई पटकको विश्वकप विजेता हो भने नेपालले तेस्रो पटक विश्वकप खेलिरहेको छ ।
नेपाल कठिन समूहमा रहेको भए पनि चामत्कारिक प्रदर्शन गर्ने विश्वास गरिएको छ ।
नेपाल समूह सीमा रहेको छ । नेपालको समूहमा इङ्गल्याण्डसँगै इटाली, स्कटल्याण्ड र वेष्ट इन्डिज रहेका छन् ।
समूह एमा भारत, पाकिस्तान, नेदरल्याण्ड्स, अमेरिका र नामिबिया रहेका छन् । समूह बीमा अष्ट्रेलिया, आयरल्याण्ड, ओमान, श्रीलंका र जिम्बाब्वे रहेका छन् ।
समूह सीमा नेपाल, इङ्गल्याण्ड, इटाली, स्कटल्याण्ड र वेष्ट इन्डिज रहेका छन् । समूह डीमा अफगानिस्तान, क्यानाडा, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका र यूएई रहेका छन् ।





