पोखरा । मोफसलको प्रतिष्ठित २५औँ संस्करणको आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता यही माघ २७ देखि फागुन ९ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुनेछ ।
आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाका अनुसार प्रतियोगितामा विदेशी तीनसहित नेपालका आठ टोली गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
च्याम्पियन टोलीले १४ लाख एक हजार र उपविजेताले सात लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्, जुन गत वर्षको तुलनामा वृद्धि गरिएको हो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले टेलजीको इलेक्ट्रिक स्कुटर, ट्रफी र प्रमाणपत्र पाउनेछन् । अनुशासित टोली, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही २५ हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।
हरेक खेलको ‘म्यान अफ द म्याच’लाई १० हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ ।
प्रतियोगितामा नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मस्र्याङ्दी क्लब, जावलाखेल युवा क्लब, प्लानिङ ब्वाइज युनाइटेड, फ्रेन्ड्स क्लब र आयोजक सहारा क्लब पोखरा सहभागी हुनेछन् ।
विदेशी टोलीमा उज्वेकिस्तानको आभा एफसी, भारतको थण्डरबोल्ट नर्थ युनाइटेड र हङकङको गोर्खा इन्टरनेशनल फुटबल क्लब छन् ।
यस वर्ष ३५ फिट उचाइका अस्थायी फ्लडलाइट जडान गरी रात्रिकालीन खेल सञ्चालन गरिने आयोजकले जनाएको छ । खेलको पहिलो हाफ उज्यालोमा र दोस्रो हाफ साँझको समयमा खेलाइनेछ ।




