मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मुस्ताङका दुई स्थानमा नेपाली सेनाले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरेको छ ।
जोमसोमस्थित इन्द्रबक्स गणका अनुसार नेपाल–चीन सिमानासँग जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित थुर्लङफाँट र तल्लो मुस्ताङको घरपझोङ–४ जोमसोमस्थित इन्द्रबक्स गणमा बुधबारदेखि सुरक्षा बेस सञ्चालनमा आएको हो ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले देशभर सेना परिचालन गर्ने निर्णयअनुसार मुस्ताङमा पनि सुरक्षा बेस स्थापना गरिएको जनाइएको छ । सेनाले मुख्य बजार र ग्रामीण क्षेत्रमा दिन–रात नियमित गस्ती थालेको छ ।
यसैबीच सशस्त्र प्रहरी बल नेपालले माथिल्लो मुस्ताङको चराङमा निर्वाचन सुरक्षा बेस स्थापना गरेको छ ।
त्यहाँ एक नायब उपरीक्षकको नेतृत्वमा ३५ जना सुरक्षाकर्मी तैनाथ छन् । नेपाल प्रहरीले पनि निर्वाचन सुरक्षाका लागि २३५ जना प्रहरी र २६६ जना निर्वाचन प्रहरी परिचालन गर्ने जनाएको छ ।
आशन्न निर्वाचनका लागि मुस्ताङका पाँच स्थानीय तहमा ३९ मतदान केन्द्र छन् । पछिल्लो मतदाता नामावलीअनुसार जिल्लामा ११ हजार ३२८ जना मतदाता रहेका छन् ।




